सामलिङ पावर कम्पनी लिमिटेडको आईपिओमा ४० गुणा बढी आवेदन परेको छ। निष्काशनको पहिलो दिनमै सर्वसाधारणको लागि खुल्ला गरिएको शेयरको माग भन्दा धेरै आवेदन परेको आईपिओ कात्तिक ८ गते बैंकिङ समयपछि बन्द भएको हो।
सिडिएससीका अनुसार सोमबार साँझ ५ बजेसम्ममा २२ लाख ६५ हजार ६ सय ९८ जना आवेदकले २ करोड ६९ लाख ३३ हजार ५ सय कित्ताको लागि आवेदन दिएका छन्। यो संख्या माग गरिएको आवेदन भन्दा ३९.६७ गुणा बढी हो।
कम्पनीको जारी पूँजीको १४.६ प्रतिशत अर्थात ७ करोड ३० लाख रकम बराबरको १०० रूपैया अंकित दरका ७ लाख ३० हजार कित्ता शेयर मध्ये २ प्रतिशत अर्थात १४ हजार ६ सय कित्ता कम्पनीका कर्मचारीहरुलाई र ५ प्रतिशत अर्थात ३६ हजार ५ सय कित्ता सामूहिक लगानी कोषको लागि बाँडफाँड गरी बाँकी ६ लाख ७८ हजार ९ सय कित्ता साधारण शेयर सार्वजनिक निष्काशनमा आएको हो।
कम्पनीले हाल इलाम जिल्लाको इलाम नगरपालिका र माइजोगमाई गाउँपालिका क्षेत्रमा पर्ने माई खोलामा कूल नौ दशमलव ५१ मेगावाट क्षमताको माइबेनी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ।
कम्पनीले आयोजना निर्माणको कूल अनुमानित लागत दुई अर्ब रुपैयाँ हुने र प्रतिमेगावाट लागत २१ करोड तीन लाख पाँच हजार रुपैयाँ हुने जनाएको छ।
सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिएको कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ।
धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘केयरएनपी आइआर बीबी माइनस’ ग्रेडिङ प्रदान गरेको छ। रेटिङअनुसार कम्पनीको हालको अवस्था दायित्वबहन गर्ने क्षमतामा औसत जोखिममा रहेको भन्ने बुझिन्छ।