एनआइसी एशिया बैंकको चुक्ता पुँजीको १५.७८९ प्रतिशत लाभांश (१ अर्ब ८२ करोड ५८ लाख) वितरण गर्ने प्रस्ताव गरिएको छ। बैंकको संचालक समितिको मिति सोमबार सम्पन्न ५११औँ बैठकको निर्णयानुसार आ.व. २०७७/७८ को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश वितरण प्रस्ताव गरिएको हो।
बैठकले प्रस्तावित लाभांशमध्य १५ प्रतिशत बोनश सेयर (१ अर्ब ७३ करोड ४६ लाख) र ०.७८९ प्रतिशत नगद लाभांश (९ करोड १२ लाख ९४ हजार) लाभांश कर प्रयोजनार्थ प्रदान गर्ने निर्णय गरेको छ।
उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी २४औं वार्षिक साधारण सभाबाट स्वीकृतिपछि आवश्यक नियमनकारी प्रक्रिया पूरा गरी बैंकका शेयरधनीलाई वितरण गरिनेछ।
बैंकले गत आ.व. २०७७र७८ मा प्रति शेयर आम्दानी २८.१८ आर्जन गर्न सफल भएको थियो। खुद मुनाफा करिब ३ अर्ब २६ करोड रुपैयाँ आर्जन गर्न सफल भएको छ।
बैंकको स्व–पूँजीमा प्रतिफल १७.०९ प्रतिशत रहेको छ। यस बैंक स्व–पुँजी प्रतिफलमा मुलुकका वाणिज्य बैंकहरू मध्ये पहिलो स्थानमा रहन सफल भएको बैंकको भनाइ छ।
यस बैंकले आ.व. २०७७/७८ मा कर्जातर्फ करिब ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम २६५ अर्ब पु¥याउन सफल भएको छ। जुन सम्पूर्ण वाणिज्य बैंकहरूमध्ये सबैभन्दा धेरै हो।
मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ। आर्थिक वर्ष २०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ। यसैगरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब ८९ अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन करिब २९८ अर्ब पुर्याउन बैंक सफल भएको छ।
मुलुकका अन्य वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब ६५५ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा १३.५८ प्रतिशत रहेको छ। आर्थिक वर्ष ०७७/७८ मा वाणिज्य बैंकहरूमा भएको निक्षेप वृद्धिको औसत प्रति बैंक निक्षेप वृद्धि करिब २१.७३ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ४.०९ गुणा रहेको छ।
यो बैंकले ३५६ शाखा कार्यालयहरू, ४७३ एटिएम, ७० वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदैं आएको छ।