मुलुकमा आयात उच्च दरले बढ्दा विदेशी मुद्राको सञ्चिति एक महिनामै ४५ अर्ब २१ करोड रुपैयाँले घटेको छ।
नेपाल राष्ट्र बैंकका अनुसार २०७८ असार मसान्तसम्म १३ खर्ब ९९ अर्ब ३ करोड बराबरको विदेशी विनिमय सञ्चिति रहेकोमा साउनमै ३.२ प्रतिशतले कमी आइ १३ खर्ब ५३ अर्ब ८२ करोडमा खुम्चिएको छ।
अमेरिकी डलरमा यस्तो सञ्चिति २०७८ असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा २०७८ साउन मसान्तमा २.८ प्रतिशतले कमी आइ ११ अर्ब ४२ करोड रहेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा साउन मसान्तमा ३.१ प्रतिशतले कमी आई १२ खर्ब ६ अर्ब ५१ करोड कायम भएको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति असार मसान्तमा १ खर्ब ५४ अर्ब ३९ करोड रहेकोमा साउन मसान्तमा ४.६ प्रतिशतले कमी आई १ खर्ब ४७ अर्ब ३१ करोड कायम भएको छ। २०७८ साउन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २५.२ प्रतिशत रहेको छ।
यसरी विदेशी मुद्रा सञ्चिति घट्नुको मुख्य कारण आयातको उच्च वृद्धि र रेमिट्यान्समा कमी आउनु रहेको बताउँछन् राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकाल।
‘आयात यहीं दरमा बढ्दै जाने, रेमिट्यान्सको आप्रवाहमा कमी आउने अवस्था देखिएकाले अब सजगता अपनाउनुपर्ने बेला भएको हो’ ढकालले सेतोपाटीसँगको कुराकानीमा भने ‘के के विकल्पहरु हुन सक्छन् भन्ने सम्वन्धमा राष्ट्र बैंकले छलफल पनि थालिसकेको छ।’
यस आर्थिक वर्षको साउन महिनामा गत वर्षको साउनको तुलनामा रेमिट्यान्स १८.१ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांक छ। विदेशी मुद्रा सञ्चितिको लागि रेमिट्यान्स एउटा बलियो स्रोत हो। एकातिर रेमिट्यान्स घटेको छ, अर्कोतिर आयातका लागि बाहिरिने रकम ह्वात्तै बढेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार यो साउन महिनामा अघिल्लो साउनको तुलनामा आयात ७५.७ प्रतिशतले बढेको छ। साउनमा मात्रै बस्तु आयात गर्दा १ खर्ब ५० अर्ब ७३ करोड रुपैयाँ बाहिरिएको छ। यसरी आयातमा उच्च रकम बाहिरिँदा विदेशी मुद्रा सञ्चितिलाई नै असर पार्दछ। उच्च आयातकै कारण विदेशी मुद्रा सञ्चितिमा ठूलो असर पारेको ढकालले बताए।
उनले भने ‘अहिले आयातकेन्द्रित व्यवसायिक ऋण प्रवाह उच्च देखिन्छ, चाडपर्वलक्षित आयात बढेको छ यसले मुख्य रुपमा विदेशी मुद्रा सञ्चितिमा असर पारेको हो।’
यसमा राष्ट्र बैंकले विवेकपूर्ण रुपमा अध्ययन गरिरहेको प्रवक्ता ढकालले बताए। विदेशी मुद्रा सञ्चितिमा दवाव पर्न नदिन केही बस्तुको आयातमा नियन्त्रण गर्नुपर्ने खाँचो देखिन्छ।
‘विकल्प भनेको अनावश्यक बस्तुको आयातमा नियन्त्रण गर्नु नै हो, राष्ट्रको आवश्यकता अनुसार मात्रै बस्तुको आयात गर्ने, विदेशी मुद्रामा हुने खर्चहरुलाई व्यस्थित गर्ने नै उपयुक्त विकल्प हुन्’ ढकालले भने।
राष्ट्र बैंकले ती विषयमा समेत अध्ययन तथा छलफल थालेको ढकालले बताए। विदेश जानेलाई दिइने मुद्रा सटहीको सुविधालाई संकुचन गर्ने पनि एउटा विकल्प हुन सक्छ।
साउनमा मात्रै होइन भदौमा पनि आयात उच्च दरले बढेको छ। भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन र भदौ दुई महिनामा ३ खर्ब १४ अर्ब रुपैयाँको बस्तु आयात भएको छ। जवकि गत वर्षको साउन र भदौमा जम्मा १ खर्ब ७८ अर्ब रुपैयाँको बस्तु आयात भएको थियो।
यसले गर्दा आगामी दिनमा समेत विदेशी मुद्रा सञ्चितिमा झनै दवाव पुग्ने संकेत देखिएको छ।