बैंकहरुमा लगानीयोग्य रकमको अभावपछि राष्ट्र बैंकले बिहीबार रिपोमार्फत २० अर्ब रुपैयाँ बैंकिङ प्रणालीमा पठाउनका लागि बोलकबोल प्रस्ताव आह्वान गर्यो।
सो रकम लिनका लागि १६ वटा बैंक तथा वित्तीय संस्थाहरु सहभागी भए। ती सहभागी संस्थाहरुले कुल ५३ अर्ब ७० करोड रुपैयाँ माग गरे। ती बैंक तथा वित्तीय संस्थाहरुले न्यूनतम ४.८ देखि ४.९९ प्रतिशतसम्मको ब्याजदर तोकेका थिए। बैंकहरूले १४ दिनसम्मका लागि यस्तो रकम प्रयोग गर्न पाउँछन्।
पछिल्लो समय सरकारी खर्च नहुँदा बैंकहरुमा निक्षेप घटेको छ। जसले गर्दा लगानीयोग्य रकमको चरम अभाव सिर्जना भएको छ।
राजश्व संकलन भइरहने तर खर्च नहुँदा सरकारी खातामा भने पैसा थुप्रिएको छ भने अर्को, बढ्दो आयातसँगै बाहिरिने रकम उच्च हुँदा पनि बैंकहरूमा निक्षेप घटेको हो।
नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार डेढ महिनाको अवधिमा वाणिज्य बैंकहरूबाट मात्रै ७२ अर्ब रुपैयाँ निक्षेप घटेको छ।
गत आर्थिक वर्षको अन्तिमसम्म (असार मसान्तसम्म) वाणिज्य बैंकहरूमा मात्रै कुल ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेकोमा भदौ १८ गतेसम्म आउँदा ४१ खर्ब २९ अर्बमा झरेको छ।
तर यसै अवधिमा बैंकहरूबाट प्रवाह हुने कर्जा भने ९८ अर्ब रुपैयाँले बढेको छ। असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा भदौ १८ गतेसम्म ३८ खर्ब १९ अर्ब रुपैयाँ पुगेको छ।
अझ प्रतिस्थापन बजेट संसदबाट पारित हुन नसक्दा यतिबेला सरकारी खर्च रोकिएको छ। जसले गर्दा अझै केही साता बैंकहरूमा निक्षेपको चरम अभाव हुने अनुमान छ।
असोज १ देखि लागू हुनेगरी बैंकहरूले दिने व्यक्तिगत मुद्दती खातामा दोहोरो अंक (१० प्रतिशतसम्म)को ब्याजदर दिन थालेका छन्।