सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले नै मुद्दती निक्षेपमा ९ प्रतिशतसम्मको ब्याजदर तोकेको छ। यद्यपि यो ब्याजदर सबैका लागि नभई बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स पठाई बचत गर्नेहरुका लागि मात्रै हो।
विदेशबाट पठाएको रेमिट्यान्सलाई बचत गर्नका लागि प्रोत्साहन स्वरुप बैंकले रेमिट्यान्स मुद्दती निक्षेप र बचत खाता संचालनमा ल्याएको छ। त्यसमध्ये रेमिट्यान्स मुद्दती निक्षेपमा ९ प्रतिशत ब्याज दिने भएको हो।
न्यूनतम ३ महिनादेखि अधिकतम ३ वर्षसम्मको अवधिका लागि यस्तो खाता खोल्न सकिन्छ। न्यूनतम १० हजार रुपैयाँ मौज्दात राखे पुग्छ। विदेशबाट पठाइएको पैसा सिधै खातामा जम्मा गर्नुपर्नेछ।
त्यस्तै रेमिट्यान्स बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर दिने बैंकले जनाएको छ। शून्य मौज्दातमै यस्तो खाता संचालन गर्न सकिनेछ।
रेमिट्यान्सलाई बैंकिङ प्रणालीमार्फत पठाउन र बचतका लागि प्रोत्साहन गर्न मौद्रिक नीतिले नै १ प्रतिशत बढी ब्याज दिन प्रोत्साहित गरेको छ।
पछिल्लो समय बैंकहरुमा नगद अभाव चुलिएपछि अरु बैंक पनि ब्याजदर बढाउने तयारीमा छन्। असोजदेखि लागू हुनेगरी धेरै बैंकले बचत तथा मुद्दती निक्षेपमा ब्याजदर बढाउने तयारी गरेका छन्।
बैंकहरुमा नगदको चरम अभावपछि दुई दिनमै राष्ट्र बैंकबाट ४१ अर्ब रुपैयाँ सापटी सुविधा (एसएलएफ) लिएका छन्। राष्ट्र बैंकका अनुसार मंगलबार २२ अर्ब ५० करोड र बुधबार १८ अर्ब ५५ करोड रुपैयाँ सापटी रकम लिएका हुन्।
निक्षेप बढ्न नसकेपछि नयाँ कर्जा विस्तार त परैको कुरा, पैसा झिक्न आउनेलाई व्यवस्थापन गर्नकै लागि बैंकहरुले राष्ट्र बैंकसँग सापटी ९एसएलएफ० लिँदै आएका छन्।
कर्मचारीको तलव सुविधाबाहेक अघिल्लो सरकारले घोषणा गरेको बजेट कार्यान्वयन नभएपछि बैंकहरुमा नगद अभाव चुलिएको हो।