सोमबार केही सेयर कारोबारीले राष्ट्र बैंक पुगेर गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नाराबाजी गरे र ज्ञापनपत्र बुझाए। कारण थियो– अघिल्लो दिन आइतबार सेयर बजार १०८ अंकले घट्नु। त्यसअघि पनि बजार केही घटेको थियो।
यसरी बजार घट्नुमा सेयर किन्नका लागि सेयर नै धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट पाइने ऋणको सीमा तोकिनु प्रमुख कारण रहेको उनीहरुको आरोप छ।
राष्ट्र बैंकले हालै ल्याएको मौद्रिक नीतिअनुसार सेयर लगानीका लागि बैंक तथा वित्तीय संस्थाहरुबाट एक व्यक्ति वा संस्थाले १२ करोड रुपैयाँसम्म कर्जा पाउने छ। त्यस्तै एक बैंक तथा वित्तीय संस्थाबाट भने एक व्यक्तिले ४ करोडसम्म मात्रै पाउने व्यवस्था छ। यहीं व्यवस्थाका कारण सेयर बजार प्रभावित भएको सेयर लगानीकर्ताको आरोप छ।
सेयर लगानीकर्ताको एक समूहले केही दिनअघि अर्थमन्त्री जनार्दन शर्मासँग अर्थ मन्त्रालयमा भेटवार्ता गरेको थियो। राष्ट्र बैंकको यो नीति सच्याउन उनीहरुले अर्थमन्त्रीलाई आग्रह गरे।
आज अर्थमन्त्री शर्माले गभर्नर अधिकारीलाई फोन गरी सेयर बजारमा भएको समस्या समाधान गर्न निर्देशन दिए।
यता राष्ट्र बैंकले भने तत्काल मौद्रिक नीतिको यो विषय परिवर्तन नहुने स्पष्ट पारेको छ। राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सेतोपाटीसँग कुराकानी गर्दै तत्काल सेयर कर्जा सीमा सम्वन्धमा कुनै परिवर्तन नहुने बताए।
उनले भने ‘राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिका सम्वन्धमा विगतमा आफ्नै इतिहास छ, मौद्रिक नीतिको प्रभाव कस्तो रह्यो भन्ने विषयलाई हामीले हरेक ३–३ महिनामा रिभ्यु गर्छौं, रिभ्यु गर्दा नै कतिपय विषय संशोधन हुन पनि सक्छन्, यथावत रहन पनि सक्छन्।’
तर मौद्रिक नीति ल्याइसकेपछि जुनसुकै बेला छलफल गर्ने, परिवर्तन गर्ने विषय विगतमा नभएको उनले औंल्याए। अर्थमन्त्री शर्माले गभर्नर अधिकारीसँग गरेको छलफलका विषयमा भने आफूलाई कुनै जानकारी नभएको उनले बताए।
राष्ट्र बैंकका अनुसार एक वर्षमा सेयर धितोमा गएको कर्जा ११० प्रतिशतले बढेको छ। गत असार मसान्तसम्म १ खर्ब ६ अर्ब रुपैयाँ यस्तो कर्जा प्रवाह भएको छ।
मौद्रिक नीतिमा सेयर कर्जा सम्वन्धमा गरिएको व्यवस्थालाई कतिपयले सकारात्मक रहेको टिप्पणी गरेका छन् भने कतिपयले यसलाई सच्याउनुपर्ने बताउँदै आएका छन्।
पूर्व अर्थसचिव शान्तराज सुवेदीले १२ करोडको सीमा समेत बढी भएको बताउँदै अहिलेको व्यवस्थालाई परिवर्तन नगर्न गभर्नर अधिकारीलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन् ‘सेयर धितो राखेर ऋण लिन पाउने यो सीमा निकै बढी हो, सेयरको दोस्रो बजार माग र आपूर्तिले निर्धारण गर्ने हो। वित्तीय परिसूचकहरु कमजोर रहेका जलविद्युत आयोजनाहरुको सेयर अचाक्ली बढेको थियो। जसको करेक्सन आवश्यक छ। त्यसैले आत्तिनु आवश्यक छैन, महाप्रसादजी हतारमा नियम परिवर्तन नगर्नुहोला।’
राष्ट्र बैंकले सेयर धितो राखेर सेयर बाहेक अन्य जुनसुकै व्यवसाय गर्न भने १२ करोडको सीमा नलाग्ने स्पष्ट पारेको छ। सेयर धितो राखेर सेयरमै लगानीका लागि मात्रै १२ करोडको सीमा लाग्ने गभर्नर महाप्रसाद अधिकारीले नै स्पष्ट पारेका छन्।
गत भदौ ११ गते मौद्रिक नीतिबारे आयोजित भर्चुअल छलफल कार्यक्रममा उनले भनेका थिए ‘नियमित व्यवसाय गर्नेका लागि आफूसँग भएको सेयर धितोको रुपमा राखेर ऋण लिनका लागि १२ करोड सीमाको केही अर्थ छैन। सेयर धितो राखेर ऋण लिनुहुन्छ, त्यो पैसा फेरि सेयरमा लगाउनुहुन्छ, फेरि अर्को ऋण लिनुहुन्छ, यो खालको प्रबृत्ति ठीक छैन है भनेर सीमा राखेका हौं, सीमा पनि धेरै माथि नै राखेका छौं।’