सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ) दोस्रो बजारमा सूचीकृत भएको छ।
कम्पनीको कुल २ करोड कित्ता साधारण सेयर सूचीकृत भएको हो। जसमध्ये संस्थापक समूहको १ करोड ४० लाख कित्ता र सर्वसाधारण समूहको ६० लाख कित्ता छ।
नेप्सेले यस कम्पनीको पहिलो कारोबारका लागि मूल्य प्रतिकित्ता न्यूनतम १०३ रुपैयाँ १७ पैसादेखि अधिकतम ३०९ रुपैयाँ ५१ पैसा तोकेको छ।
भोलिको पहिलो कारोबार १०३ रुपैयाँ २० पैसादेखि ३०९ रुपैयाँ ५० पैसासम्मको बीचमा हुनेछ। साउन २० गते कम्पनीले आइपिओको बिक्री खुलाएको थियो।
२०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरु गर्दै आएको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ।
आब ०७७÷७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा छ। यो पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। यसको प्रधान कार्यालय कमलादीमा छ। ११८ शाखा कार्यालय संचालनमा छ।
पछिबाट खुलेका कम्पनीमध्ये यसअघि प्रभु, ज्योति, रिलायन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गरेका छन्। अब आइएमई, रिलायबल, सिटिजन, सन नेपाल र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आइपिओ जारी गर्न बाँकी छ।