सेयर बजार बढ्दा म्युचुअल फण्डमा लगानी गरेकाहरू पनि यो वर्ष मालामाल हुने भएका छन्।
म्युचुअल फण्डहरुले प्रतिइकाई १० रुपैयाँका दरले योजना जारी गरी सर्वसाधारणबाट रकम संकलन गर्छन्। त्यहीं रकम विभिन्न कम्पनीका सेयर, डिवेन्चरजस्ता धितोपत्रमा लगानी तथा कारोबार गर्दछन्। यसरी कारोबार गर्नका लागि म्युचुअल फण्डले सैद्धान्तिक तथा प्राविधिक रुपमा विश्लेषण गर्नका लागि छुट्टै टिम नै बनाएका हुन्छन्।
केही रकमले लामो अवधिका लागि सेयर तथा डिवेन्चरमा लगानी गर्छन् भने केही रकमले दैनिकजसो सेयर किनबेच गरिरहन्छन्। न्यून मूल्यमा किन्ने र बढेका बेला बेचेर नाफा लिन्छन्। सो नाफाबाटै आर्थिक वर्ष सकिएपछि फण्डका इकाइधनीलाई नगद लाभांश वितरणको घोषणा गर्दछन्।
यतिबेला गत आर्थिक वर्षको नाफाबाट म्युचुअल फण्डहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन्। घोषितमध्ये सनराइज फर्स्ट म्युचुअल फण्डले सबैभन्दा धेरै लाभांश घोषणा गरेको छ।
सो योजना व्यवस्थापकले ५० प्रतिशत नगद लाभांश दिने भएको छ। यसको अर्थ प्रतिइकाई १० रुपैयाँका दरले लगानी गर्नेले एक वर्षमै प्रतिइकाई ५ रुपैयाँ त लाभांश मात्रै पाउने छन्। अर्थात १ लाख रूपैयाँ लगानी गर्नेले एक वर्षमै ५० हजार त लाभांश मात्रै पाउनेछन्।
गत माघमा मात्रै फण्ड जारी गरेकाले सानिमा लार्ज क्यापले ४ प्रतिशत मात्रै लाभांश घोषणा गरेको छ।
सेयर बजारबारे चासो र जानकारी नहुनेलाई म्युचुअल फण्डको लगानी उपयुक्त हुने बताउँछन् मेगा क्यापिटलका सिइओ सवीर वादे श्रेष्ठ। स्टक मार्केट अध्ययन गर्न नजान्ने तथा पर्याप्त समय नहुनेका लागि पनि लगानीका लागि म्युचुअल फण्ड उपयुक्त हुने उनी बताउँछन्।
‘म्युचुअल फण्डको प्रतिफल मुद्दती निक्षेपबाट पाउने ब्याजदर भन्दा धेरै नै हुन्छ, अर्कोतर्फ स्टक मार्केटमाजस्तो धेरै जोखिम पनि हुँदैन’ उनले भने। मेगा क्यापिटलले हालै मेगा म्युचुअल फन्ड–१ योजना जारी गरेको छ।
नेपालमा जारी भएका यस्ता फण्डको अवधि ५ देखि १० वर्षसम्मको छ।
लाभांश त पाउँछन् नै अर्कोतर्फ प्रतिइकाई १० रुपैयाँको सम्पत्ति मूल्य (न्याभ) पनि बढ्दै जान्छ। फण्डले लगानी गरेको तर बिक्री नगरेको सेयरको मूल्य बढ्दै जाँदा लगानी गरेको प्रतिइकाई १० रुपैयाँको सम्पत्ति मूल्य (न्याभ) पनि बढ्दै जान्छ। कुल संकलित रकमबाट फण्डले खरिद गरेको सेयरको मूल्य बढ्दै जाँदा न्याभ बढ्दै जाने हो।
सबैजसो म्युचुअल फण्डको न्याभ उच्च दरले बढेकाले यस पटक सबैजसोले राम्रो लाभांश दिने छन्। आफूले लगानी गरेको प्रतिइकाई १० रुपैयाँको सम्पत्ति मूल्य कति पुग्यो भनेर सम्वद्ध योजना व्यवस्थापक (बैंकका सहायक कम्पनी)को वेबसाइटबाट हेर्न सकिन्छ। त्यस्तै बीचमै म्युचुअल फण्ड बेच्न मन लागेमा स्टक मार्केटबाट बेच्न सकिन्छ। फण्डको बजार मूल्य सामान्यतः न्याभभन्दा केही कम हुन्छ।
प्राथमिक बजारमा अंकित मूल्य १० मा नकिनेकाले दोस्रो बजारमा प्रचलित मूल्यअनुसार पनि यस्ता फण्ड खरिद गर्न सकिन्छ। अहिले बजारमा २५ वटा म्युचुअल फण्ड सूचीकृत छन्। केही फण्ड जारी हुने क्रममा छन् भने जारी भइसकेका केही सूचीकृतको क्रममै छन्।
हेर्नुस्, अहिलेसम्म कुन म्युचुअल फण्डले कति घोषणा गरे लाभांश?
म्युचुअल फण्ड नाम | घोषित लाभांश प्रतिशतमा | प्रतिइकाई बजार मूल्य रुपैयाँमा |
सनराइज फस्र्ट म्युचुअल फण्ड | ५० | ११.८२ (लाभांश समायोजनपछि) |
सानिमा इक्वीटी फण्ड | ३३ | १७. |
सानिमा लार्ज क्याप | ४ | १०.२० |
सिटिजन्स म्युचुअल फण्ड–२ | ४० | १५. ५४ |
सिटिजन्स म्युचुअल फण्ड–१ | ४० | १५. ५९ |