राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सेयर धितो राखेर व्यवसाय गर्न १२ करोडभन्दा बढी ऋण पाइने स्पष्ट पारेका छन्।
आज आयोजित एक भर्चुअल कार्यक्रममा गभर्नर अधिकारीले पुनः सेयर खरिद गर्नका लागि मात्रै १२ करोडको सीमा लाग्ने बताए।
‘नियमित व्यवसाय गर्नेका लागि आफूसँग भएको सेयर धितोको रुपमा राखेर ऋण लिनका लागि १२ करोड सीमाको केही अर्थ छैन’ उनले भने ‘सेयर धितो राखेर ऋण लिनुहुन्छ, त्यो पैसा फेरि सेयरमा लगाउनुहुन्छ, फेरि अर्को ऋण लिनुहुन्छ, यो खालको प्रबृत्ति ठीक छैन है भनेर सीमा राखेका हौं, सीमा पनि धेरै माथि नै राखेका छौं’
सेयरमै लगानीका लागि मात्रै यो सीमा राखिएको उनले बताए। समग्रमा सेयर धितो राखेर सेयर खरिदका लागि एक व्यक्ति वा संस्थाले बैंक तथा वित्तीय संस्थाबाट १२ करोडभन्दा बढी ऋण नपाउने र एउटा बैंकबाट भने ४ करोड रुपैयाँसम्म मात्रै पाउने व्यवस्था मौद्रिक नीतिले गरेको छ।