साउन महिनामा २७ वाणिज्य बैंकहरुबाट मात्रै ७८ अर्ब रुपैयाँ निक्षेप झिकिएको छ। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार सो अवधिमै निक्षेप घट्दा पनि कर्जा भने ४३ अर्ब बढेको छ।
असार मसान्तसम्म यी २७ बैंकमा कुल ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेकोमा साउन ३२ गतेसम्म आउँदा ४१ खर्ब २३ अर्बमा झरेको छ।
भदौमा पनि निक्षेप बढ्ने संकेत भने देखिएको छैन। भदौ ४ गतेसम्म आउँदा निक्षेप अझ घटेर ४१ खर्ब १७ अर्बमा झरेको छ।
निक्षेप घटिरहँदा कर्जा प्रवाह भने बढेको छ। असार मसान्तसम्म ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा साउन ३२ गतेसम्म आउँदा ३७ खर्ब ६४ अर्ब पुगेको छ। भदौको पहिलो ४ दिन (४ गतेसम्म) कर्जा प्रवाह ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ।
कुनै महिना निक्षेप घटे पनि आत्तिनुपर्ने अवस्था नरहेको बैंकर बताउँछन्। यद्यपि निक्षेप घटेकै कारण बैंकहरुले भदौ १ गतेदेखि नै लागू हुनेगरी मुद्दती तथा बचत खातामा केही ब्याजदर समेत बढाएका छन्।
एकातिर निक्षेप घटिरहने अर्कोतिर राष्ट्र बैंकले बैंकहरुको निक्षेपमा कर्जा अनुपात (सिडी रेसियो)को सीमा ९० प्रतिशत तोकेपछि कर्जा विस्तारमा चुनौति थपिएको छ।
सिडिआर ९० भन्दा बढी भएका बैंकले १ वर्षभित्रै सीमामा ल्याउनुपर्ने र दैनिक नियमन हुने राष्ट्र बैंकले जनाएको छ।