सेयर धितो राखेर विभिन्न बैंक तथा वित्तीय संस्थाबाट एक व्यक्ति वा संस्थाले १२ करोडभन्दा बढी ऋण लिएको खण्डमा १ वर्षभित्रै तोकिएको सीमामा ल्याउनुपर्ने भएको छ।
मौद्रिक नीति कार्यान्वयनका लागि निर्देशन जारी गर्दै राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो। ठीक आजकै मितिबाट कुनै व्यक्ति वा संस्थाले विभिन्न बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा लिएको ऋण १२ करोडभन्दा बढी भएको खण्डमा आजको मितिदेखि ठीक एक वर्षभित्र १२ करोडभन्दा तल झार्नुपर्नेछ।
अर्थात सोभन्दा माथि भएको ऋण चुक्ता गर्नुपर्नेछ। त्योभन्दा अघि नै कर्जाको भुक्तानी गर्न सक्ने सुविधा पनि छ।
त्यस्तै एउटा बैंक तथा वित्तीय संस्थाबाट सेयर धितो राखेर लिएको ऋण ४ करोडभन्दा बढी भएको खण्डमा पनि एक वर्षभित्र ४ करोडमुनिको सीमामा ल्याउनुपर्नेछ।
राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयनका लागि आज निर्देशन दिएसँगै लागू भएको छ।