साउन महिनामै बैंकहरूमा लगानीयोग्य रकम (तरलता) अभाव देखिएको छ।
असार महिनामा पर्याप्त पुँजीगत खर्च हुने भएकाले साउन महिना तरलता फालाफाल हुने महिना मानिन्छ। असारमा बैंकहरुमा निक्षेप पनि प्रशस्त आएको थियो।
असार महिनामा मात्रै वाणिज्य बैंकहरुको निक्षेप २ खर्ब १० अर्बले बढेको थियो। जेठ मसान्तसम्म ३९ खर्ब ९१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा असार मसान्तसम्म आउँदा ४२ खर्ब १ अर्ब पुगेको थियो।
तर साउनमै लगानीयोग्य रकमको अभाव देखिएको छ। जसको परिणामस्वरुप अन्तरबैंक ब्याजदर पनि बढेको छ।
गत आइतबार २.४१ प्रतिशत रहेको औसत अन्तरबैंक दर सोमबार एकै दिन बढेर ३.१८ प्रतिशत पुगेको छ। बैंकमा तरलता बढी हुँदा यस्तो ब्याजदर न्यून हुने गर्छ भने अभाव हुँदा बढ्ने गर्छ।
खासगरी बैंकमा निक्षेप घट्दा वा निक्षेपभन्दा कर्जा प्रवाह बढी हुँदा तरलता साँघुरिने गर्छ। बैंकमा साउन लागेदेखि नै निक्षेप घटेको घट्यै छ।
वाणिज्य बैंकहरुबाट मात्रै साउनको २२ दिनमा ६१ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ। नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार असार ३१ गतेसम्म २७ वाणिज्य बैंकहरुमा कुल ४१ खर्ब १ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोको थियो।
साउन ८ गते ४१ खर्ब ५८ अर्ब रुपैयाँमा झर्यो भने १५ गते ४१ खर्ब ५३ अर्ब र २२ गतेसम्म आउँदा ४१ खर्ब ४० अर्ब रुपैयाँमा झरेको छ।
नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालका अनुसार यतिबेला बैंकिङ प्रणालीमा १८ अर्ब रुपैयाँ अधिक तरलता छ।
यो रकम न्यून हो। कोरोनाको असर परिरहेको अर्थतन्त्र उकास्नका लागि पनि बैंक तथा वित्तीय संस्थाहरुमा यतिबेला पर्याप्त लगानीयोग्य रकमको आवश्यक छ।
साउन महिनामा रेमिट्यान्समा कमी आउनु र सरकारी खर्च नहुनाले पनि बैंकिङ प्रणालीमा निक्षेप घटेको प्रवक्ता ढकालको भनाइ छ।
यद्यपी यो सामान्य अवस्था नै रहेको उनको भनाइ छ। ‘एलसी खुल्ने क्रम बढेको छ, यसले आयातका लागि रकम बाहिरिएको देखिन्छ’ ढकालले भने ‘तर साउनमा रेमिट्यान्स र सरकारी खर्च घटेको छ।’ निषेधाज्ञाका कारण रोकिएको बस्तु आयात पनि यतिबेला ह्वात्तै बढेकाले बैंकहरुबाट निक्षेप घटेको हो।
बैंकहरुबाट खिचिएको रकम क्रमिक रुपमा परिपक्व हुँदै जाँदा तरलता व्यवस्थापन पनि हुँदै जाने उनले बताए। उनले भने ‘धेरै आत्तिहाल्नुपर्ने अवस्था होइन, असारको खर्चले केही समय जान्छ, त्यसपछि फेरि सरकारी खर्च पनि हुन थाल्छ।’
बैंकहरुमा निक्षेप नबढ्नुमा असार, साउनमा रेमिट्यान्समा कमी आएको हुन सक्ने अनुमान छ। राष्ट्र बैंकले जेठसम्म भित्रिएको रेमिट्यान्सको विवरण मात्रै सार्वजनिक गरेको छ।
राष्ट्र बैंकको तथ्यांकले जेठ मसान्तसम्म रेमिट्यान्समा राम्रो सुधार भएको देखाउँछ। जेठ मसान्तसम्म कुल ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशत बढी हो।
खासगरी निषेधाज्ञाका बेला रेमिट्यान्स बढेको थियो। निषेधाज्ञा र हवाई उडान खुलेपछि रेमिट्यान्स अनौपचारिक माध्यमतिर सरेको पनि हुन सक्छ। तर छोटो समयमा त्यसरी विश्लेषण गर्नु उपयुक्त नहुने ढकालको भनाइ छ।