एक मात्रै पूर्वाधार विकास बैंक (निफ्रा)ले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा घटेको छ। कम्पनीले असार मसान्तसम्म ८३ करोड ६४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।
जवकि अघिल्लो वर्ष ८४ करोड ७१ लाख रुपैयाँ नाफा कमाएको थियो। रेगुलेटरी एडजस्मेन्टपछि कम्पनीको नाफा ६५ करोड ८५ लाख हुन आउँछ।
कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ३८ पैसा छ। प्रतिसेयर नेटवर्थ ११७ रुपैयाँ छ।
कम्पनीले हालसम्म जम्मा २ अर्ब २७ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको छ। जलविद्युत लगायत पूर्वाधार क्षेत्रमा ऋण लगानी नै कम्पनीको मुख्य व्यवसाय हो। विभिन्न धितोपत्रहरुमा कम्पनीले १ अर्ब २८ करोड रुपैयाँ लगानी गरेको छ।
२० अर्ब चुक्ता पुँजी रहेको कम्पनीले ३० करोड रुपैयाँ निक्षेपका रुपमा संकलन गरेको छ। एक वर्षमा जम्मा ५ करोड मात्रै निक्षेप बढेको छ। २ अर्ब ४० करोड रुपैयाँ रिजर्भका रुपमा जम्मा गरेको छ।
सेयर बजारमा कम्पनीको मूल्य भने ओरालो यात्रामा देखिएको छ। असार २७ गते कम्पनीको मूल्य प्रतिकित्ता ५११ रुपैयाँ रहेकोमा हिजोसम्म आउँदा ४९२ रुपैयाँमा झरेको छ। अहिलेसम्म कम्पनीको अधिकतम मूल्य कारोबार भइरहँदा प्रतिकित्ता ७२६ रुपैयाँसम्म पुगेको छ भने कारोबार बन्द हुँदा अधिकतम ६२३ रुपैयाँसम्म पुगेको छ।
कम्पनीले ठूलो रकममा निक्षेप संकलन गरी पूर्वाधार क्षेत्रमा लगानी गर्छ। उसले संकलन गरेको निक्षेपमा दिने ब्याज र ऋणी आयोजनाबाट लिने ब्याजको अन्तर नै आम्दानीको मुख्य स्रोत हो।
निफ्रामा व्यक्तिगत निक्षेपकर्ताले कम्तीमा पाँच वर्षका लागि न्यूनतम एक करोड रूपैयाँ जम्मा गर्नुपर्छ। निक्षेप मात्रै नभई ऋणपत्र लगायत उपकरण जारी गरेर पनि कम्पनीले स्रोत जुटाउन सक्छ।
कम्पनीले लन्डन स्टक एक्स्चेन्जमा बोन्ड (ऋणपत्र) जारी गरी पुँजी भित्र्याउने लक्ष्य लिएको छ। राष्ट्र बैंकबाट कम्पनीले ५ करोड अमेरिकी डलर (साढे पाँच अर्ब रूपैयाँभन्दा बढी) सम्मको बोन्ड जारी गर्न स्वीकृति पाएको छ। तर कम्पनीले बोन्ड जारी गरेर स्रोत जुटाउन सक्नेमा आशंका छ।