बीमा कम्पनीहरुले यो आर्थिक वर्षमा हकप्रद सेयर जारी गर्न नपाउने भएका छन्।
‘पुँजी वृद्धि गर्ने हो भने बोनस सेयर लगायत अरु माध्यमबाट उनीहरु गर्न सक्छन्, तर यो वर्ष हकप्रद निष्कासन गर्न नदिने नै हो’ बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले सेतोपाटीसँग भने।
पछिल्लो समय नयाँ खुलेका कतिपय कम्पनीहरुले हकप्रद जारी गर्नका लागि तयारी समेत गरिरहेका थिए। यहीं हकप्रदका कारण यसअघि इन्साइडर ट्रेडिङ आशंकामा अजोड इन्स्योरेन्स विवादित बनेको थियो।
साथै नयाँ कम्पनीहरुको हकप्रद आउने हल्ला बजारमा समेत चल्दै आएको छ। सेयर मूल्य बढाउनका लागि गरिने यस्ता हल्लाको पछि नलाग्न अध्यक्ष सिलवालले आग्रह गरे।
‘हकप्रदको वहानामा बजारमा समेत चलखेल हुने गरेको पाइन्छ, त्यसकारण नियामक यसप्रति सजग छ’ उनले भने।
सरकारी बीमा कम्पनीहरुले पनि हकप्रद सेयर जारी गर्न नपाउने उनले स्पष्ट पारे। समितिबाट यसअघि नै स्वीकृति पाएकाले भने जारी गर्न सक्नेछन्, तर अब स्वीकृति दिइने छैन।
यस्तो थियो यसअघि अजोड इन्स्योरेन्सको घटना
अजोड इन्स्योरेन्स कम्पनीले चैत १७ गते साधारण सभा बस्नेबारे सार्वजनिक सूचना जारी गर्यो। कम्पनीले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव साधारण सभा लैजाने जनाएको थियो।
यसको अर्थ हाल लगानीकर्तासँग भएको सेयर जति छ, त्यसको थप ५० प्रतिशत सेयर प्रतिकित्ता अंकित मूल्य १ सयमै किन्न पाउनु हो। लगानीकर्तासँग १ सय कित्ता सेयर छ भने उनीहरूले थप ५० कित्ता १ सय रुपैयाँमै किन्न पाउँछन्।
उक्त सूचना प्रकाशित भएपछि सेयर बजारमा लगानीकर्ताबीच अजोडको सेयर किन्न होडाबाजी भयो। लगानीकर्ता उचालिँदा अजोडको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो। हकप्रदको सूचना सार्वजनिक हुनुअघि चैत १६ गते कम्पनीको मूल्य प्रतिकित्ता ७७६ रुपैयाँ थियो। चैत १९ गते कम्पनीको मूल्य बढेर १०३१ रुपैयाँ पुग्यो। प्रतिकित्ता १०३१ रुपैयाँ हुँदा पनि धेरैले हकप्रद सेयरको लोभमा धमाधम अजोडको सेयर किने।
त्यही लोभले अहिले धेरै लगानीकर्ता फसेका छन्। अन्तत कम्पनीले हकप्रद सेयर जारी गर्न पनि पाएन। अहिले यसको मूल्य ८५७ रुपैयाँ छ।
हकप्रदबाट फाइदा हुने बुझाइ गलत
यसअघि पनि बारम्बार लगानीकर्ता हकप्रदका पछाडि दौडिँदा पछारिने गरेका छन्। हकप्रदले सेयर संख्या बढ्ने भए पनि कम्पनीको वित्तीय स्थिति मजबुत हुने वा धेरै लाभांश दिन सक्ने क्षमता बढ्ने होइन।
सेयर लगानीकर्ता पिताम्बर शर्मा खरेल भन्छन् ‘हकप्रदमा लगानीकर्ता उचालिनु पर्ने कारण नै छैन, हकप्रदपछि सेयरको आपूर्ति बढ्छ यसले झन् मूल्य घट्ने सम्भावना हुन्छ, त्यस्तै सेयर संख्या बढेपछि प्रतिसेयर आम्दानी घट्छ, लाभांश दिन सक्ने क्षमता सोअनुसार बढ्न सक्दैन।’
अर्कोतर्फ हकप्रद जारी भइसकेपछि बजार मूल्य पनि सोअनुसार समायोजन गरिन्छ।
मानौं ए कम्पनीको सेयर कुनै लगानीकर्तासँग १ सय कित्ता छ। हाल (बुक क्लोजअघि) बजार मूल्य १ हजार रुपैयाँ रहेको कम्पनीले शतप्रतिशत हकप्रद सेयर जारी गरेपछि लगानीकर्तासँग २०० कित्ता हुन्छ। सेयर संख्या त बढ्यो तर बजार मूल्य १ हजार रुपैयाँ हुँदैन। मूल्य समायोजन (१०००+१००/१ं+१) भई ५५० रुपैयाँमा झर्दछ।
अर्थात् हकप्रदपछि सेयर संख्या बढेको आधारमा मूल्य घटाइन्छ। हकप्रदअघि नै १ हजारमा १ सय कित्ता सेयर किन्नेले पहिला १ लाख रुपैयाँ लगानी गरेको हुन्छ, पछि १ सयका दरले थप १ सय किन्दा १० हजार रुपैयाँ गरी कुल १ लाख १० हजार लगानी हुन्छ।
हकप्रदपछि सेयर संख्या २ सय भयो तर मूल्य ५५० हुँदा बेच्दा पनि १ लाख १० हजार नै हुन आउँछ। तसर्थ हकप्रदले लगानीकर्तालाई फाइदा हुँदैन।
हकप्रदका पछाडि दौडिन नहुने अनुभवी लगानीकर्ताको सुझाव छ।