तपाईंसँग पुराना-झुत्रा नोट छन् भने बैंक तथा वित्तीय संस्थाहरूबाट नयाँ साट्न पाइन्छ। बैंक तथा वित्तीय संस्थाहरूले ती पुराना-झुत्रा नोट नेपाल राष्ट्र बैंकमा पठाउँछन्। राष्ट्र बैंकले ती पुराना नोट जलाएर नस्ट गर्ने गरेको छ।
अब भने ती झुत्रा पुराना नोटबाट स–साना टुक्रा बनाएर ब्रिकेट बनाइने भएको छ। नोट टुक्र्याएर ब्रिकेट बनाउने मेसिन राष्ट्र बैंकले भित्र्याएको छ।
राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले नेदरल्यान्ड्सबाट चारवटा मेसिन ल्याइएको र एउटा थापाथली कार्यालयमा जडान गरी सफल परीक्षण गरिएको जानकारी दिए।
‘मेसिन परीक्षण पनि सफल भइसकेको छ। छिट्टै सञ्चालनमा ल्याउने तयारी छ,’ उनले सेतोपाटीसँग भने।
अब वीरगञ्ज र बिराटनगरका क्षेत्रीय कार्यालयमा पनि मेसिन जडान गर्ने तयारी भइरहेको उनले बताए। अरु चारवटा मेसिन पनि आउनेछ। सम्भवतः भदौमा ती मेसिन आउने उनले बताए। ती मेसिन आइसकेपछि राष्ट्र बैंकका सबै कार्यालयमा जडान हुनेछ।
ती मेसिनले पहिलो चरणमा पुनः प्रचलनमा ल्याउन मिल्ने (नयाँ) र पुराना नोट छुट्याउनेछ र नोटहरूको बन्डल पनि बनाउनेछ।
नयाँ नोट पुनः प्रचलनमा आउनेछ भने प्रचलनमा ल्याउन नमिल्ने पुराना नोट अर्कोतिर छुट्टिनेछ। ती छुट्टिएका पुराना नोट दोसो चरणमा ‘स्रेडिङ’ मेसिनले नै स–साना टुक्रामा परिणत गर्नेछ। एकपटकमा एउटा मेसिनले दस लाख थान नोट टुक्र्याउन सक्ने ढकालले बताए। तेस्रो चरणमा तिनै टुक्राबाट मेसिनले ब्रिकेट बनाउनेछ।
‘यी ब्रिकेट पछि बिक्री गर्न पनि सकिन्छ। वा हामीले आफैंले उपयोग गर्नुपर्ने पनि हुन सक्छ,’ ढकालले भने। यद्यपि अहिलेजस्तो नोट आगो बालेर जलाउनै पर्ने अवस्था अन्त्य हुनेछ।
अब मेसिनले पुराना नोट व्यवस्थापन गर्ने भएकाले जनशक्ति कम मात्रै परिचालन हुनेछ।
उनका अनुसार यसअघि कर्मचारीले नै नयाँ र पुराना छुट्याउनुपर्थ्यो। घन्टौं लाग्थ्यो। अब त्यो अवस्था हुँदैन। सीमित कर्मचारीले सहजै यो काम गर्न सक्ने उनले बताए।
पुराना नोट जलाउँदा हुने वातावरण प्रदूषण पनि घटाउन यसले मद्दत पुग्छ। पैसाबाट बन्ने ब्रिकेट कसैले किन्न चाहेमा पाउनेछ। पुराना-झुत्रा नोटलाई ब्रिकेट बनाइ इन्धनका रूपमा उपयोग गर्न सकिनेछ।
यी आठ वटा मेसिनका लागि करिब ४३ करोड रूपैयाँ बराबर लागत लाग्नेछ। वर्षमा झन्डै एक खर्ब रूपैयाँ बराबरको पुराना नोट जलाइने गरेको छ। पछिल्लो समय राष्ट्र बैंकबाट छापिएका नोटको गुणस्तर कम हुनुले पनि छिटो झुत्रिएको हो कि भन्ने आशंका छ।
राष्ट्र बैंकका अधिकारीहरू भने गुणस्तरभन्दा लापरबाहीपूर्वक प्रयोग गरिनुले झुत्रिने क्रम बढ्दै गएको दावी गर्छन्। डिजिटल प्रविधिबाट कारोबार गर्ने पद्धति विकास हुँदै गएमा झुत्रिने नोट संख्यामा कमी आउने र यसले छपाइमा लाग्ने लागत पनि घट्नेछ।
राष्ट्र बैंकका अनुसार ५, १०, २० र १ सय दरका नोट छपाउँदा प्रतिनोट औसतमा १ रुपैयाँ ७० पैसा लागत पर्छ। त्यस्तै ५ सय र १ हजारका नोट छपाउँदा औसतमा प्रतिनोट २ रुपैयाँ ६५ पैसा लागत लाग्छ।