अब १० पैसा घटबढ गरेर पनि सेयर किनबेचका लागि अर्डर हाल्न पाइने भएको छ।
नेपाल स्टक एक्स्चेन्जले धितोपत्र बोर्डको स्वीकृतिमा कारोबार संचालन विनियमावलीमा संशोधन गरेको हो। आइतबारदेखि नै सेयर किनबेच गर्न चाहनेले १० पैसा घटबढ गरेर पनि आफ्नो टिएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम)मा अर्डर पोष्ट गर्न सक्नेछन्।
हालसम्म १ रुपैयाँको अन्तरमा मात्रै अर्डर पोष्ट गर्न मिल्ने व्यवस्था थियो। ठूलो ठूलो कारोबारमा १ रुपैयाँको अन्तर धेरै भएको भन्दै यसलाई १० पैसामा झारिएको हो।
त्यस्तै प्रिओपनिङ बजारमा अब कुनै पनि कम्पनीको मूल्य २ प्रतिशतभन्दा धेरैले घटबढ नहुने भएको छ। बोर्डको निर्देशनअनुसार आइतबारदेखि यो व्यवस्था लागू गरिने नेप्सेले जनाएको छ। हालसम्म प्रिओपनिङ बजारमा कुनै पनि कम्पनीको मूल्य ५ प्रतिशतसम्म घटबढ हुने गरेको थियो।
५ प्रतिशतको सीमाले चलखेल बढेको लगानीकर्ताको गुनासोपछि बोर्डले यसलाई सम्बोधन गर्ने प्रयास गरेको हो। साढे १० बजेदेखि १४ मिनेटसम्म प्रिओपनिङ कारोबार हुने गरेको छ।
११ बजेदेखि हुने नियमित कारोबारमा भने कम्पनीको मूल्य १० प्रतिशतसम्म घटबढ हुने व्यवस्था छ।