नेपाल बंगलादेश बैंकमा गरेको लगानी ढाकाको आइएफआइसी बैंकले झिक्ने भएको छ।
बैंकमा आइएफआइसीको संस्थापक ३ करोड ६८ लाख २७ हजार ४२६ कित्ता सेयर छ। नेपाल बंगलादेश बैंकको संचालक समितिको बैठकमा यसबारे छलफल भएको छ।
सो संस्थापक सेयर किन्नका लागि पहिलो अधिकार अरु संस्थापकहरुको नै हुन्छ। तसर्थ बैंकले आफ्ना संस्थापक सेयरधनीलाई यसबारे जानकारी गराउने भएको छ। ३५ दिनभित्र बैंकले राष्ट्रिय दैनिकमा सूचना जारी गरी संस्थापक सेयर बिक्रीबारे जानकारी गराउने भएको छ।
उक्त सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय कमलादीमा खरिद गर्न इच्छुक संस्थापकले आवेदन दिनेछन्। कर चुक्ताको आम्दानी, सेयर खरिद गर्न चाहेको रकमको उपलव्धताको पुष्ट्याइँ हुने कागजात समेत संलग्न गरेर इच्छुक संस्थापकले आवेदन दिनुपर्नेछ।
साथै प्राप्त आवेदनमा प्रस्तावित खरिद गर्न चाहेको सेयरको मूल्य र संख्याका आधारमा जुनसुकै आवेदन स्वीकार वा अस्वीकार गर्न सक्ने अधिकार आइएफआइसी बैंकसँग नै रहने बैंकका कम्पनी सचिव विश्वप्रकाश पौडेलले जानकारी दिए।
यता पाकिस्तानको हबिब बैंकले पनि हिमालयन बैंकमा गरेको सेयर लगानी झिक्दैछ। कम्पनीको कुल सेयर संख्या १० करोड ६८ लाख ४४ हजार ८ हुन आउँछ।
यस हिसावले २ करोड १३ लाख ६८ हजार ८०१ कित्ता संस्थापक सेयर बिक्री गरेर हबिबले करिब ६ अर्ब ४ करोड रुपैयाँ बढी रकम लैजाँदै छ।
हबिबले प्रतिकित्ता करिब २८३ रुपैयाँका दरले आफ्नो संस्थापक सेयर बिक्री गर्न खोजेको छ। हाल इन्भेष्टमेन्टसँग मर्ज प्रक्रिया अघि बढेकाले मर्ज सम्पन्नपछि मात्रै सो सेयर बिक्री हुनेछ।