नेपाल धितोपत्र बोर्डका पूर्वअध्यक्ष रेवतबहादुर कार्कीले निजी क्षेत्रबाट अर्को स्टक एक्स्चेन्ज खोल्नुपर्ने जरुरत रहेको बताएका छन्।
बोर्डले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि गरेको छलफल कार्यक्रममा बोल्दै कार्कीले भने ‘आधुनिक कर्पोरेट सेक्टरबाट स्टक एक्स्चेन्जको जरुरत भइसकेको छ, यसको विस्तारका लागि अघि बढ्नुपर्छ।’ बजारको नियमनका लागि स्टक एक्स्चेन्ज पनि सक्रिय हुनुपर्ने उनले बताए।
हाल नेपालमा एकमात्र नेपाल स्टक एक्स्चेन्ज कम्पनी (नेप्से) संचालनमा छ। तर सो सरकारी स्वामित्वको कम्पनी भएकाले सेवा प्रतिस्पर्धी हुन नसकेको गुनासो लगानीकर्ताले गर्दै आएका छन्। त्यस्तै नियामक धितोपत्र बोर्डसँग बेलाबेलामा टकराव समेत हुने गरेको छ।
त्यस्तै बैंकका सहायक कम्पनीलाई लाइसेन्स दिन ढिला भइसकेको कार्कीले बताए। कार्की आफू पदमा हुँदा गरेका कार्यलाई लगानीकर्ताले खुलेर प्रशंसा गर्ने गरेका छन्।
बजारको अहिलेको वृद्धिलाई फण्डामेन्टल हिसावले सपोर्ट नगर्ने उनले बताए। ब्रोकरको पुँजी बढाएर क्षमता र पूर्वाधार विस्तार गर्नुपर्ने खाँचो रहेको उनले औंल्याए। हाल देशभर ५० ब्रोकर कम्पनी संचालनमा छन्। तिनको चुक्ता पुँजी जम्मा २ करोड तोकिएको छ।
२०५० सालमा ३२ कम्पनीलाई अनुमति दिइएको थियो। नौ वटाले छोडे। २३ वटा ब्रोकर कम्पनीले सेवा थाल्दै गर्दा २०६८ सालमा २७ वटा थपिए। दैनिक कारोबार रकम लाख, करोड हुँदै अहिले अर्बमा पुगेको छ।
लगानीकर्ता संख्या सय, हजार हुँदै लाखमा पुगेको छ। ब्रोकरको त्यही ५० संख्या भने अहिलेसम्म बढ्न सकेको छैन। न त शाखा फैलिएका छन्।