यो साता एक कदम बढेको सेयर बजार दुई कदम घटेको छ। अर्थात समग्रमा ४१ अंकले घट्यो भने जम्मा २३ अंकले बढ्यो। ४ दिन घट्दा १ दिन मात्रै बजार बढ्यो।
आइतबार ८. ४ अंकले बजार घट्यो। सोमबार ११.१६ अंकले र मंगलबार ५ अंकले घट्यो। बुधबार १६.९ अंकले घटेको बजार अन्तिम दिन बिहीबार २३ अंकले बढ्यो। गत साता २८४३ अंकमा रहेको परिसूचक यो साता बन्द हुँदा २८२५ अंकमा कायम भयो।
साताभर २३ अर्ब ६९ करोडको सेयर कारोबार भएको छ। आइतबार ५ अर्ब ५ करोड, सोमबार ४ अर्ब ५८ करोड, मंगलबार ४ अर्ब २२ करोड, बुधबार ४ अर्ब ५८ करोड तथा बिहीबार ४ अर्ब ८१ करोडको सेयर किनबेच भयो।
गत जेठ ३१ गते ३०२६ को उच्च अंकको रेकर्ड बनाएको परिसूचकले असार २४ गतेसम्म आउँदा २०१ अंकले घटेको छ। त्यस्तै कारोबार रकमलाई हेर्ने हो भने जेठ ३० गते सबैभन्दा धेरै १९ अर्ब ५५ करोडको सेयर किनबेच भएको थियो। बजार घटे पनि २८ सयभन्दा तल झर्न सकिरहेको छैन। बुधबार २७९५ सम्मै बजार घटेर अन्त्यमा २८०१ अंकमा अडियो।
२७९५ को सपोर्ट प्वाइन्टले बजार अडिएको बताउँछन् सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएका राजु मुनिकार। सो प्वाइन्ट तोडेमा २५९० बलियो सपोर्ट प्वाइन्ट रहेको उनले औंल्याए। यद्यपि तत्काललाई बजार २७९५ देखि २८९५ को बीचमा चलिरहन सक्ने उनको अनुमान छ।
त्यस्तै बजार माथि जानका लागि २८९६ को विन्दु तोड्नुपर्ने अवस्था रहेको उनले बताए। बुल मार्केटको अवधि बाँकी नै रहेकाले निश्चित समय र अंकपछि बजार बढ्ने मुनिकारले बताए।
‘प्राविधिक रूपमा बुलको चक्रलाई हेर्दा २०२३ को नोभेम्बरदेखि २०२४ जुलाईको बीचमा मात्रै बजारको बुल सकिने देखिन्छ’ उनले भने।
अवधिका हिसाबमा ६० प्रतिशत बुल सकिएको र ४० प्रतिशत बाँकी रहेको उनले औंल्याए। उनका अनुसार विगतमा ३ वटा बुल र ३ वटा बियरिस चक्रको उदाहरण छ।
परिसूचकसँगै कारोबार रकम घट्दै गएको छ। विश्लेषक मुनिकार कारोबार घट्नुलाई नराम्रो पक्षका रूपमा हेर्न नमिल्ने बताउँछन्। ‘अहिले बजार साइडवेजमै खेलिरहेको छ,’ उनले भने, ‘बजारमा प्रवेश गर्नका लागि पनि र बेचेर बाहिरिनका लागि पनि कुनै निश्चित परिस्थिति बनेको छैन।’
कतिपय संस्थागत तथा ठूला लगानीकर्ता नाफा बुक गरेर बजारबाट बाहिरिएको र लकडाउन खुकुलो भएपछि उनीहरू बजारमा प्रवेश नगरेकाले कारोबार रकम घटेको उनको भनाइ छ।
त्यस्तै कतिपय म्यचुअल फण्ड तथा इन्भेष्टमेन्ट कम्पनीलाई असार मसान्तसम्मको वित्तीय विवरणमा राम्रो नाफा देखाउनु पर्ने भएकाले नाफा बुक गरिसकेपछि उनीहरूले अहिले बजारमा लगानी नल्याएको उनको भनाइ छ। अहिले साना तथा मध्यम खासगरी व्यक्तिगत लगानीकर्ताबाट मात्रै बजारमा कारोबार भइरहेको उनी बताउँछन्।
त्यस्तै उच्च मूल्यमा सेयर किनेकाहरू अहिले होल्डमै रहेको र खरिद गर्न चाहनेले पनि निरन्तर बजार घटेका कारण होल्ड गरेकाले कारोबार रकमको मात्रा न्यून हुन गएको मुनिकार बताउँछन्। सेयर किन्न चाहनेहरू पनि राम्रो करेक्सन आउने आशामा रहेकाले कारोबार घटेको उनको बुझाई छ।
मौद्रिक नीति, कम्पनीहरूको चौथो त्रैमासिक वित्तीय विवरण, लाभांशसमेत आउने क्रममा रहेकाले ती पनि अहिले पर्खाइका विषय रहेको उनले बताए। बजारको परिसूचकसँगै कारोबार रकम न्यून हुनुलाई सकारात्मक रूपमा लिनुपर्ने उनको भनाइ छ।
‘भोल्युम कम हुनु बजार सामान्य अंकमा घट्नु भनेको न्यून मूल्यमा आत्तिएर बेच्नेहरू छैनन् है भन्ने संकेत हो’ मुनिकारले सेतोपाटीसँग भने ‘अर्कोतर्फ थोरै कारोबार हुनु भनेको ठूला तथा संस्थागत लगानीकर्ता पनि होल्ड पोजिसनमै हुँदा आपूर्ति धेरै नभएको संकेत हो।’
अर्कोतर्फ खरिद गर्नेहरूले मूल्य घटाएरमात्रै किन्न चाहेका छन्। जसले गर्दा खरिद गर्नेहरू पनि सक्रिय नभएको र ठूलै ‘करेक्सन’ कुरिरहेको संकेतका रूपमा कारोबार रकम घट्नुलाई बुझ्नुपर्ने उनले बताए।