हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ। असार ३१ गतेसम्म खाता नवीकरण नगरेमा खाता फ्रिज हुन्छ।
यसअघि डिम्याट खाता संचालन गर्ने कम्पनी (निक्षेप सदस्य)हरुले सूचना जारी गरी डिम्याट खाता नवीकरण गर्न आग्रह गरेका छन्। वार्षिक १ सय रुपैयाँ शुल्क बुझाएपछि डिम्याट खाता नवीकरण हुन्छ।
हाल साढे ३५ लाखभन्दा धेरै डिम्याट खाता खुलेका छन्। यस्तो डिम्याट खाता खोलिदिने संस्था ७७ वटा छन्।
निक्षेप सदस्यकोमा गई यस्तो खाता नवीकरण पनि गर्न सकिन्छ। डिम्याट खाता मात्रै नभई अनलाइनबाट आइपिओ भर्ने प्रणाली ‘मेरो सेयर’का लागि पनि वर्षेनी रकम भुक्तानी गर्नुपर्ने व्यवस्था छ। प्रत्येक वर्ष ५० रुपैयाँ बुझाएर ‘मेरो सेयर’ सक्रिय बनाउनुपर्छ।
निक्षेप सदस्यकहाँ नै गएर डिम्याट खातासँगै ‘मेरो सेयर’ अनलाइनको शुल्क बुझाउन सकिन्छ। तर घरमै बसेर अनलाइनबाटै डिम्याट खातासँगै मेरो सेयर नवीकरण गर्न सकिने व्यवस्था छ।
असारभित्रै डिम्याट खाता नवीकरण नगरेमा खाता फ्रिज हुन जान्छ। खाता फ्रिज भएपछि दाेस्राे बजारमा सेयर किनबेच गर्न वा प्राथमिक बजारमा आइपिओ भर्न पनि पाइँदैन।
घरमै बसेर अनलाइनबाटै कसरी नवीकरण गर्ने त?
सबैभन्दा पहिले मेरो सेयर खोल्नुपर्ने हुन्छ। त्यसपछि माथि दायाँ आफ्नो नाममा क्लिक गर्नुस्। ‘रिन्यू एकाउन्ट’मा जानुस्। त्यसपछि इसेवा, खल्ती वा एनसिएचएलको कनेक्ट आइपिएसमध्ये भुक्तानी गर्ने माध्यम छनौट गरी त्यसमै क्लिक गर्नुस्।
त्यसपछि मेरो सेयर र डिम्याट वा मेरो सेयर वा डिम्याट मध्ये नवीकरण गर्न चाहेको क्लिक गर्नुस् र ‘प्रोसिड’मा जानुस्।
अब पैसा तिर्ने माध्यम इसेवा, खल्ती वा कनेक्ट आइपिएस खुल्छ। आफू ती माध्यममा आवद्ध नभएको अवस्थामा साथीभाईकोबाट पनि भुक्तानी गर्न सकिन्छ।
त्यसपछि जसको जुन माध्यमबाट भुक्तानी हुने हो, त्यसमा आइडि/यूजरनेम र पासवर्ड राखेर ‘लगिन’ गरी अन्य शुल्क भुक्तानी गरेजस्तै नै रकम भुक्तानी गर्न सकिन्छ।