कमोडिटी एक्स्चेन्ज मार्केट (वस्तु विनिमय बजार) संचालन गर्ने कम्पनीको चुक्ता पुँजी न्यूनतम डेढ अर्ब रुपैयाँ तोकिएको छ।
धितोपत्र बोर्डले कमोडिटी एक्स्चेन्ज मार्केटसम्वन्धी नीतिगत एवम् प्रकृयागत व्यवस्थासम्वन्धी निर्देशिका २०७८ आजबाट लागू गरेको छ। निर्देशिका लागू भएसँगै अब कमोडिटी एक्स्चेन्ज मार्केट संचालन गर्न चाहने कम्पनीहरुले आवेदन दिन सक्नेछन्।
जसअनुसार कम्पनीको चुक्ता पुँजी न्यूनतम १ अर्ब ५० करोड र २ अर्ब रुपैयाँ तोकिएको छ। कम्पनीहरुले कारोबार गर्ने वस्तुअनुसार चुक्ता पुँजी न्यूनतम डेढ अर्बदेखि २ अर्ब रुपैयाँसम्म तोकिएको हो।
कृषिजन्य उत्पादन, तेलजन्य वस्तु र अन्यको कारोबार गर्ने कम्पनीको चुक्तापुँजी न्यूनतम डेढ अर्ब तोकिएको हो। ती वस्तुसँगै बहुमूल्य धातु (सुन, चाँदी, प्लाटिनम) तथा धातुजन्य वस्तुहरु (आल्मुनियम, तामा, शिशा, निकल) जस्ता वस्तुको समेत कारोबार गर्ने कम्पनीको चुक्ता पुँजी २ अर्ब तोकिएको छ।
यस्तो बजार संचालन गर्ने कम्पनीहरुको संस्थापक समूहको सेयर कम्तीमा ५१ प्रतिशत र बढीमा शत प्रतिशतसम्म लगानी गर्ने प्रस्तावसहित बोर्डमा निवेदन दिन सकिनेछ। बोर्डमा आवेदन परेपछि योग्य कम्पनीहरूलाई प्रारम्भिक अनुमति दिइनेछ।
‘अनुमति दिइसकेपछि उनीहरूले तोकिएअनुसारको पूर्वाधार र संरचना बनाउनुपर्नेछ। त्यसपछि पूर्वाधार तयार भएरनभएकोबारे बोर्डले अनुगमन गरेपछि मात्रै सञ्चालनको लागि लाइसेन्स पाउने हुन्,’ बोर्डका प्रवक्ता निरज गिरीले भने।
यसअघि पनि कमोडिटी मार्केट सञ्चालनका लागि भन्दै छ वटा कम्पनीले आवेदन दिएका थिए। तर मापदण्ड अपूरो भएकाले त्यत्तिकै रोकिएको थियो। ती छ सहित अरू कम्पनीले पनि फेरि गरिने प्रस्तावमा मापदण्ड पूरा गरेर आवेदन दिन सक्नेछन्।
कमोडिटी मार्केटमा कारोबार हुने वस्तुहरू वस्तु विनिमय बजार नियमावलीले नै तय गरेको छ। कारोबार हुने वस्तुहरुलाई कृषि, धातु, खनिज, तेलजन्य र अन्य वस्तुको रूपमा वर्गीकरण गरिएको छ।
जसअनुसार कृषिजन्य उत्पादनमा कपास, अलैंची, जीरा, खुर्सानी, मरीच, काजु, सुपारी, मुसुरो, दलहन, मकै, गहुँ, धान, आलु, मेथी, तोरी, भटमास, आलस, फापर, उखु, सूर्ति, जूट, अदुवा, बेसार, फलफूल तथा सोबाट निर्मित जुसको कारोबार हुनेछ।
त्यस्तै धातुजन्य वस्तुमा आल्मुनियम, तामा, सिसा, निकल, टिन, पित्तल, फलाम, स्टिल र जिंकको कारोबार हुनेछ।बहुमूल्य धातु अन्तर्गत सुन, चाँदी र प्लाटिनमको कारोबार हुनेछ। त्यस्तै खनिजमा कच्चा तेल, पेट्रोलियम पदार्थ, प्राकृतिक ग्यास, हिटिङ आयलको कारोबार हुनेछ।
तेलजन्य वस्तुमा नरिवलको तेल, पाम तेल, तोरीको तेल, भटमासको तेल, सूर्यमुखी तेल र आलसको तेलको कारोबार हुनेछ। अन्य अन्तर्गत चिनी, सख्खर, चिया, कफी, अण्डा र जडिबुटीको कारोबार हुनेछ।