अब विदेशी मुद्राको विनिमयदर दिनमा दुई पटक प्रकाशन गर्नुपर्ने भएको छ। राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरुलाई निर्देशन जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
जसअनुसार ‘फोरिजन एक्स्चेन्ज डिलर एसोसिएसन अफ नेपाल’ (फेडान)ले प्रत्येक दिन बिहान १० बजे र दिनको २ बजे ‘रेमिट्यान्स विनिमयदर’ प्रकाशित गर्नुपर्नेछ।
सोही दरलाई नै आधार मानेर बैंक तथा वित्तीय संस्था र रेमिट्यान्स कम्पनीहरुले रेमिट्यान्स प्रयोजनका लागि समान रुपमा विनिमयदर कायम गर्नुपर्नेछ। फेडानले बिनिमयदर सबै बैंक तथा वित्तीय संस्था, रेमिट्यान्स कम्पनीहरु र राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विमागमा पठाउनेछ।
रेमिट्यान्स कारोबार गर्ने सबै संस्थाहरु यदि फेडानको सदस्य नभएको खण्डमा अनिवार्य रुपमा सदस्यता लिनुपर्नेछ।
रेमिट्यान्स कारोबार गर्ने इजाजतप्राप्त कम्पनीहरुले नगद धरौटी लिएर मात्रै सब एजेन्ट नियुक्ति गर्ने गरेको भएमा सो नगदको सट्टा जमानत प्रयोजनका लागि बैंक तथा वित्तीय संस्थाबाट जारी भएको जमानत लिनुपर्ने व्यवस्था गरिएको छ।