सेयर बजार ठीक एक हप्तापछि मात्रै हरियो देखिएको छ। आज मंगलबार परिसूचक ७९ अंकले बढेको हो। सो अंकको वृद्धिपछि नेप्सेको अंक २९१३ मा कायम भएको छ।
यस दिन १० अर्ब २८ करोड रुपैयाँको सेयर किनबेच भएको छ। परिसूचक बढ्दा पनि कारोबार रकम भने हिजोको तुलनामा घटेको हो। हिजो ११ अर्ब ६१ करोडको कारोबार भएको थियो।
यस दिन सबै समूहहरु बढेका छन्। बैंकिङ ४३, ब्यापार ८, होटल तथा पर्यटन १२२, विकास बैंक २५०, जलविद्युत १४८, फाइनान्स १२४, निर्जीवन बीमा ३७१, उत्पादन १५९, अन्य ३९, माइक्रोफाइनान्स ५९ र जीवन बीमा ३९१ अंकले बढेका छन्।
कम्पनीहरुलाई हेर्दा २०१ कम्पनीको मूल्य बढेको छ, ९ कम्पनीको मूल्य स्थिर भएको छ भने १५ कम्पनीको मूल्य घटेको छ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको १ अर्ब ४९ करोड रुपैयाँको सेयर किनबेच भयो। यो कम्पनीले हिजो साँझ मात्रै लाभांशको घोषणा पनि गरेको छ। साढे १६ प्रतिशत बोनस र साढे ३ प्रतिशत नगद लाभांशको घोषणा गरेको थियो।
कारोबारका आधारमा दोस्रो स्थानमा रहेको जलविद्युत लगानी तथा विकास कम्पनीको जम्मा ३२ करोडको सेयर किनबेच भयो।
अपि पावर, ङादी गुप, पन्चकन्या माइ हाइड्रो, बरुण हाइड्रो, जलविद्युत लगानी तथा विकास कम्पनी, जानाकी फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ।
राधि विद्युत, जोशी हाइड्रोपावर, कालिका पावर, खानीखोला हाइड्रो, युनियन हाइड्रो, घलेम्दी हाइड्रो, हिमालय पावर पार्टनरको मूल्य पनि ९.९ प्रतिशतले बढेको छ। एभरेष्ट इन्स्योरेन्सको संस्थापक सेयरको मूल्य सबैभन्दा धेरै ३ प्रतिशतले घटेको छ।
बजार आज बल्ल एक सातापछि मात्रै हरियो देखिएको हो। यद्यपि कारोबार रकम हिजोका तुलनामा घटेको छ। तसर्थ कारोबार रकम घट्नुले खरिद गर्नेहरु अझै विश्वस्त हुन नसकेको देखाउँछ।
यसअघि जेठ ३१ गते सेयर बजारको परिसूचक नेप्से ३०२६ अंकमा पुगेर अहिलेसम्मलाई सर्वाधिक अंकको कीर्तिमानी कायम गरेको छ। त्यसयता सेयर बजार निरन्तर ओरालो लाग्दै आएको थियो।
असार १ गते नियामक धितोपत्र बोर्डले विज्ञप्ति जारी गरेर संयमतापूर्वक लगानी गर्न आग्रह गरेको थियो। साथै उसले ५१ कम्पनीमा जोखिम भएको उल्लेख गरेको थियो। कतिपयले बोर्डको यहीं विज्ञप्तिलाई बजार घट्नुको मुख्य कारक ठान्दै आएका थिए।
बजार सधैं बढ्ने वा सधैं घट्ने अवस्था नरहने भएकाले संयमतापूर्वक लगानी गर्नुपर्ने आवश्यकता रहेको जानकार बताउँछन्।
सेयर बजारबारे प्राविधिक विश्लेषण गर्दै आएका राजु मुनिकारले माथिल्लो बिन्दु २९८० को अंक पार नगरेसम्म दीर्घकालीन रुपमा बजार माथि बढ्ने संभावना नदेखिएको बताए।
उनले भने ‘हिजोअस्तिको बजारको गिरावट एउटा सुधार थियो, १–२ दिन बजार बढ्दैमा बढिरहन्छ वा पुरानाे रेकर्ड नै ताेडिन्छ भन्ने पनि हुँदैन’ उनले भने। तर बजार घटेमा पनि अहिले आत्तिनुपर्ने अवस्था भने नरहेको उनले बताए।