धितोपत्र बोर्डको एक विज्ञप्तिले सेयर बजारमा बुधबार ५२ अंकको पहिरो गयो।
बोर्डले आफ्नो अध्ययनका क्रममा ५१ कम्पनीमा जोखिम देखिएको भन्दै हिजो साँझ विज्ञप्ति जारी गरेपछि लगानीकर्ता मात्रै होइन, सम्बद्ध सरोकारवालाहरुले समेत यसको विरोध गरेका छन्।
धितोपत्र बजार संचालनको जिम्मा लिएको स्वयम् नेप्सेले नै नियामक बोर्डको विज्ञप्ति उचित नरहेको जनाएको छ।
बोर्डले कम्पनीको नाम नै तोकी विज्ञप्ति निकालेर गल्ती गरेको नेप्सेका सिइओ चन्द्रसिंह साउदले बताएका छन्।
साउदले खुल्ला बजारलाई स्वतन्त्र छाडिदिनुपर्ने र नेप्से वा बोर्ड कसैले पनि जोखिम भनेर कम्पनीहरु छुट्याउन नहुने उनको भनाइ छ।
बोर्डले साना र नयाँ लगानीकर्ताका लागि राम्रै आशयले विज्ञप्ती जारी गरे पनि केही त्रुटी भएको उनले बताए। ‘कुन कम्पनीको सेयर मूल्य कति बढ्नुपर्ने हो वा कतिसम्म उचित हो भनेर हामीले भन्नुपर्ने वा छुट्याउनुपर्ने त होइन, खुल्ला बजारले नै निर्धारण गर्ने हो’ उनले भने ‘बोर्डले त्यसरी सार्वजनिक गर्नु हुन्नथ्यो।’
बजारमा किन्ने र बेच्नेको आफ्नो रणनीति हुने भएकाले सोअनुसार नै मूल्य तय हुने उनले बताए। लगानीकर्तालाई जोखिम हुन सक्ने भएकै कारण एकै दिनमा यदी सीमाभन्दा धेरै तल वा माथि गएमा सर्किट लाग्ने व्यवस्था रहेको उनले बताए।
बोर्ड मात्रै नभई कुनै पनि निकायले बजार मूल्यसँग जोखिम तुलना गरेर सार्वजनिक गर्न नहुने साउदको भनाइ छ।
हाल कुनै पनि कम्पनीको सेयर मूल्य दैनिक १० प्रतिशतसम्म मात्रै घट्न वा बढ्न पाउने सीमा छ। मूल्य १० प्रतिशत घटेमा वा बढेमा पनि सर्किट ब्रेकर लाग्छ।
सेतोपाटीसँगको कुराकानीमा उनले भने ‘धितोपत्र बोर्डले त्यसरी कम्पनीको नामै तोकेर जोखिमका रुपमा सार्वजनिक नगरेको भए हुने थियो, ती कम्पनीको विवरण नेप्सेको वेबसाइटमै हुन्छ, विवरण हेरेरै लगानीकर्ताले लगानी गर्छन् भन्ने हाम्रो बुझाई हो।’
दोस्रो बजारको मुख्य संचालक नेप्से भएकाले नेप्सेलाई नै उहाँहरुले निर्देशन गर्नुपर्ने उनले बताए। ‘बोर्ड नियामक हो, उहाँहरुले हामीलाई निर्देशन दिएको भए, त्यसमा सुधार गर्थ्यौं वा सुझाव दिन्थ्यौँ।’
यद्यपि लगानीकर्ता भने बोर्डको विज्ञप्तीले आत्तिनु नपर्ने उनले बताए। पहिले नै कम्पनीले सार्वजनिक गरेका विवरणका आधारमा बोर्डले सूचक केलाएकाले त्यसलाई लिएर आफूसँग भएको सेयर बेचिहाल्नु पर्ने अवस्था नरहेको उनले बताए।
‘कम्पनीको वित्तीय अवस्था, भोलिको संभावित अवस्था अध्ययन गरेर मात्रै लगानी गर्नुपर्छ, नेप्सेको वेबसाइटमा सबै कम्पनीको वित्तीय स्थिति राखिएको छ,’ उनले भने ‘आफ्नो लगानी केमा सुरक्षित हुन्छ भन्ने त लगानीकर्ताले नै बुझ्नुपर्छ।’
बजारमा २२० कम्पनी सूचीकृत छन्। तीमध्ये ५१ कम्पनीमा तुलनात्मक रुपमा जोखिम भएको आशयले बोर्डले हिजो मात्रै विज्ञप्ती जारी गरेको थियो।
बोर्ड भन्छ– गलत रुपमा बुझियो
यता धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरी भने आफूहरुले सार्वजनिक गरेको विज्ञप्तिलाई गलत रुपमा बुझिएको बताएका छन्। ‘अध्ययनका क्रममा ५१ वटा कम्पनीको अवस्था यस्तो छ है भनेर हामीले जानकारी मात्रै गराएका हौं, तर कतिपयले यी कम्पनी नै नकिन्नु भनेजस्तो बुझ्नुभयो’ गिरीले भने।
बोर्डले केही सूचकलाई लिएर ५१ कम्पनीको अवस्था उल्लेख गरेको जनाउँदै उनले अन्य सूचकलाई केलाएर लगानी गर्ने वा नगर्ने निर्णय स्वयम् लगानीकर्ताले गर्नुपर्ने उनले बताए।
‘हामीले ती कम्पनी बेठिक हुन् भनेर भनेको पनि होइन, ५१ कम्पनीको केही मापदण्डबारेमा उल्लेख गरेको मात्रै हो’ उनले भने। लगानीको नाफा र नोक्सान ब्यहोर्ने स्वयम् लगानीकर्ता भएकाले उनीहरु आफैले विवेकपूर्ण रुपमा निर्णय लिने विश्वास रहेको बोर्डले जनाएको छ।
एक वर्षको अवधिमा कम्पनीहरुको मूल्य वृद्धि ३ सय प्रतिशत र सोभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन गरी बोर्डले ५१ कम्पनीको नाम सार्वजनिक गरेको थियो।
याे पनि हेर्नुस्- ‘धितोपत्र बोर्डले जोखिम भनेर ५१ कम्पनी सार्वजनिक गर्नु क्षेत्राधिकारबाहिर’