बुधबार सेयर कारोबार खुल्दा धितोपत्र बोर्डको विज्ञप्तीको ठूलो असर देखिएको छ। बोर्डले जोखिम भनेर व्याख्या गरेका सबैजसो कम्पनीको मूल्यमा उच्च गिरावट आएको छ।
बजार खुलेको आधा घण्टामा अर्थात ११ः ३० बजे बोर्डले तोकेका जोखिम कम्पनीका लगानीकर्ता नै गुमाउनेमा सबैभन्दा अगाडि देखिएका छन्।
११ः ३० बजेको बजार मूल्यअनुसार युनियन पावर, दिव्यश्वरी हाइड्रो, आँखु खोला, सोल्टी होटलको सेयर मूल्य अघिल्लो दिनको तुलनामा ८ प्रतिशतले घटेको छ। यी सबै कम्पनी बोर्डको अध्ययनले जोखिम ठानेका कम्पनीभित्र पर्छन्।
त्यस्तै जोशी हाइड्रो, नारायणी डेभलपमेन्ट, गोर्खा फाइनान्सको मूल्य पनि ७ प्रतिशत धेरैले घटेको छ।
त्यस्तै रसुवागढी हाइड्रो, सान्जेन हाइड्रो, माथिल्लो तामाकोसी, विशालबजार कम्पनी, न्रिफ्रा, चन्द्रागिरि हिल्स सबैको मूल्य घटेको छ।
बोर्डको विज्ञप्तिमा कुनै पनि वाणिज्य बैंकलाई जोखिम ठानिएको छैन। जसले गर्दा सो समूह साढे ११ बजेसम्म हरियो छ।
बैंक र माइक्रोफाइनान्सबाहेक यस अवधिमा अरु सबै समूह रातो भएका छन्। साढे ११ बजेसम्म नेप्से परिसूचक ३२ अंकले घटेको छ।
यसअघि हिजो मात्रै बोर्डले एक वर्षको अवधिमा कम्पनीहरुको मूल्य वृद्धि ३ सय प्रतिशत र सोभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा ५१ कम्पनीमा सेयर लगानी जोखिमयुक्त रहेको भन्दै विज्ञप्ती जारी गरेको थियो।