नेपाल धितोपत्र बोर्डको विज्ञप्तिप्रति सेयर लगानीकर्ताले विरोध जनाएका छन्। बोर्डले नामै तोकेर ५१ कम्पनी सेयर लगानीका लागि जोखिममा रहेको भनी विज्ञप्ति जारी गरेपछि लगानीकर्ताले विरोध जनाएका हुन्।
नेपाल इन्भेष्टर फोरमका अध्यक्ष छोटेलाल रौनियारले ५१ वटा कम्पनीको नामै तोकेर जोखिम छन् भन्नु गलत रहेको बताए। बोर्डले तोकेका धेरै कम्पनी राम्रो रहेको उनले बताए। सूचीकृतमध्ये करिब २० प्रतिशत कम्पनीबारे बोर्डले दिएको अभिव्यक्तिले बजार प्रभावित पार्न खोजिएको उनले बताए।
उनले भने ‘नियामक आफैले जोखिम भनेर एकाएक कम्पनीको नाम तोक्नु हुँदैनथ्यो, खराब गरेका, नियमित साधारणसभा बस्न नसकेका, वित्तीय विवरण सार्वजनिक नगरेका कम्पनीहरुलाई वहाँहरुले कारबाही गरे भइहाल्थ्यो नि’ रौनियारले भने।
खुला बजारले नै सेयरको मूल्य निर्धारण गर्ने भएकाले यसतर्फ कसैले पनि विवाद गर्नु नपर्ने उनले बताए। अरु अन्तर्राष्ट्रिय नियामक कसैले नगरेको काम बोर्डले गरेको उनले टिप्पणी गरे।
बोर्ड आफ्नो क्षेत्राधिकारभन्दा बाहिर गएको सेयर लगानीकर्ता संघ नेपालका अध्यक्ष उत्तम अर्याल बताउँछन्। ‘खुल्ला बजारमा नियामकले यो यो कम्पनी जोखिम छन् भनेर नियन्त्रण गर्न खोज्नु नै गलत हो, बाेर्डकाे क्षेत्राधिकार हाेइन’ सेतोपाटीसँगको कुराकानीमा अर्यालले भने।
बोर्डले देखाएका केही सूचक मात्रै लगानीका लागि पर्याप्त नरहेको उनले बताए। आजसम्म ती कम्पनीको सेयर खरिद गरेकाले भोलि बजार घट्दा गुमाउने भएकाले यसले लगानीकर्ताको हितभन्दा अहित गरेको उनको बुझाई छ।
कतिपय जलविद्युत कम्पनीहरु निर्माणकै चरणमा रहेको र समयावधि पनि बाँकी नै भएकाले त्यस्ता कम्पनीलाई समेत समावेश गरेर जोखिम देखाउनु गलत रहेको उनले बताए।
सेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा फुल्लेल पनि अर्यालको भनाइमा सहमत छन्। ‘कम्पनीको मूल्य वृद्धि, मूल्य आम्दानी अनुपात, प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थजस्ता सूचक केलाउने र नामै तोकेर कम्पनी जोखिम भए/नभएको छुट्याउने काम बोर्डको होइन’ फुल्लेलले भने।
आवश्यक पूर्वाधार बनाउन र विस्तार गर्न छाडेर कम्पनी जोखिम भए/नभएको हेरेर बस्नु नियामकीय व्यवस्थाबाहिरको विषय रहेको लगानीकर्ताको बुझाई छ।
‘नेप्सेको वेबसाइटमा बारम्बार समस्या आउँछ, टिएएमस राम्ररी चल्दैन, इडिआइएस गर्न बारम्बार समस्या छ ती विषयमा चिन्ता छैन, ब्रोकर कमिसन महँगो छ, त्यसमा कुनै मतलब छैन’ उनले भने ‘त्यस्ता विषयमा पो उहाँहरुले चासो दिनुपर्ने हो।’
सोझा र नयाँ लगानीकर्ताको नाममा नियामक नै क्षेत्राधिकारबाहिर गएको लगानीकर्ताको आरोप छ। लगानीकर्ता पिताम्बर शर्मा खरेल पनि बोर्डको विज्ञप्तिप्रति असन्तुष्ट छन्। बोर्डले बजारका लागि उपयुक्त पूर्वाधार बनाउने, विकास गर्ने र गलत कार्य गर्ने/गराउनेलाई कारबाही गर्नुपर्नेमा उल्टै लगानीकर्तालाई तर्साएको उनको आरोप छ।
‘यहाँ मोबाइलमा म्यासेज पठाएर खुलेयाम इन्साइडर ट्रेडिङ हुन्छन् त्यसतर्फ अध्ययन गर्ने, कारबाही गर्नेतिर बोर्डको चासो छैन, खाली बजार बढ्यो, जोखिम बढ्यो भन्ने चिन्ता उहाँहरुमा छ’ उनले भने।
रसुवागढी, सान्जेन लगायत कतिपय आयोजनाहरु निर्माणकै चरणमा रहेकाले ती कम्पनीको प्रतिसेयर आम्दानी कम वा ऋणात्मक हुनु स्वभाविक भएको उनले टिप्पणी गरे। ‘बोर्डले सार्वजनिक गरेका ती ४–५ वटा सूचक मात्रै सबथोक होइन, अरु धेरै पक्षहरु पनि लगानीका क्रममा केलाइन्छ’ उनले भने ‘लगानी भनेकै भविष्यका लागि हेर्ने हो।’
‘कि उहाँहरुले त्यस्ता निर्माण भइरहेका आयोजनाको आइपिओ नै निकाल्न नदिनुपर्थ्यो, निर्माण हुँदै गर्दा बोर्डले नै आइपिओ जारी गर्न स्वीकृति दिने, अनि त्यहीं सेयर बजारमा गइसकेपछि जोखिम भयो भन्नु त राम्रो भएन नि’ उनले भने ‘व्यवसायिक उत्पादन सुरु भएपछि मात्रै आइपिओ निकाल्न दिए भयो नि।’
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक तथा प्रवक्ता निरज गिरीले भने आफूहरुले कम्पनीको अवस्था मात्रै जानकारी गराएको बताउँछन्। ‘हामीले यो किन्नु वा यो बेच्नु भनेको होइनौं, मात्रै कम्पनीको अवस्था यस्तो छ है भनेर भनेका हौं’ सेतोपाटीसँगको कुराकानीमा उनले भने।
लगानीकर्ताको हित र संरक्षणमा बोर्डले ध्यान दिने र सतर्क गराउनुपर्ने कर्तव्य हुने उनले बताए। ‘हाम्रो अध्ययनले यो यो मापदण्डमा जोखिम देखिएको छ, विचार गर्नू भनिएको हो, अरु धेरै सूचक केलाएर लगानीकर्ता आफैले निर्णय गर्ने हो’ गिरीले भने।
यसअघि बोर्डले विभिन्न मापदण्डका आधारमा ५१ कम्पनीहरुको सेयरमा लगानी जोखिम रहेको भन्दै विज्ञप्ति जारी गरेको थियो।
एक वर्षको अवधिमा कम्पनीहरुको मूल्य वृद्धि ३ सय प्रतिशत र सोभन्दा बढीले वृद्धि भएका, मूल्य आम्दानी अनुपात १ सय र सोभन्दा बढी भएका, प्रतिसेयर आम्दानी ऋणात्मक भएका, प्रतिसेयर अंकित मूल्यभन्दा प्रतिसेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतका आधारमा यी ५१ कम्पनीमा सेयर लगानी जोखिमयुक्त रहेको बोर्डले जनाएको छ।
निफ्रा, विशालबजार कम्पनी, चन्द्रागिरि हिल्स लगायत कम्पनीहरुको नाम विज्ञप्तिमा उल्लेख छ।
हेर्नुस् बोर्डको विज्ञप्तिसहितकाे याे समाचार- निफ्रा, चन्द्रागिरि, विशाल बजारसहित यी ५१ कम्पनीको सेयर लगानी जोखिममा