अब बैंक तथा वित्तीय संस्थाका धेरै शाखा संचालनमा आउने भएका छन्। निषेधाज्ञा केही खुकुलो हुँदै गएपछि राष्ट्र बैंकले पुरानो व्यवस्था फुकुवा गरेको हो।
यसअघि जेठ १९ गते राष्ट्र बैंकले उपत्यकामा खुल्ने बैंक, विकास बैंक र फाइनान्स कम्पनीको संख्या तोकिदिएको थियो। जसअनुसार काठमाडौं उपत्यकामा वाणिज्य बैंकका अधिकतम ६ वटा शाखा, विकास बैंकका ४ वटा र फाइनान्स
कम्पनीका ३ वटासम्म शाखा संचालन हुँदै आएको थियो। त्यस्तै उपत्यकाबाहिर स्थानीय निकायसँगको समन्वयमा शाखा संख्या खुल्दै आएको थियो।
अब सो पुरानो व्यवस्था हटाइएको राष्ट्र बैंकका प्रवक्ता डा. गुणाकर भट्टले जानकारी दिए। अब बैंकहरु आफैले नै संचालन गर्ने शाखाको संख्या तय गर्न सक्नेछन्। कोरोनाविरुद्ध उच्च सतर्कता अपनाउँदै बैंकहरुले वित्तीय सेवा दिन सक्ने भट्टले बताए।
सकेसम्म थोरै कर्मचारी राखेर भीड नहुनेगरी आलोपालो शाखाहरु संचालन गर्न राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ। निषेधाज्ञा खुकुलो भएसँगै बैंक तथा वित्तीय संस्थाका सीमित शाखा मात्रै खुल्दा झन् भीड हुन सक्ने भएकाले थप शाखाहरु संचालन गर्नुपर्ने अवस्था रहेको भट्टले बताए।
बैंक तथा वित्तीय संस्थाहरुले उपस्थित नभई सम्पादन गर्न असम्भव हुने कामका लागि मात्रै कार्यालयमा कर्मचारीको उपस्थिति गराउन राष्ट्र बैंकले आग्रह गरेको छ।
त्यस्तै प्रधान कार्यालयको हकमा एक तिहाई कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्नुपर्ने भएको छ। त्यस्तै बन्द हुने शाखा कार्यालयको मुल ढोका, संस्थाको वेबसाइट तथा सामाजिक सञ्जाल समेतमा सेवा सम्वन्धी सोधपुछको लागि सम्पर्क व्यक्तिको नम्बर, सेवा प्राप्त गर्न सकिने वैकल्पिक शाखा, खुला रहने समयावधिबारे सूचना दैनिक रुपमा प्रकाशन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।
उपत्यकाबाहिर स्थानीय निकायसँगको समन्वयमा शाखा संचालन गर्न राष्ट्र बैंकले आग्रह गरेको छ।