नेपालमा पुनर्बीमा दलाल (ब्रोकर) कम्पनी संचालन गरिने भएको छ। पुनर्बीमा दलाल कम्पनी संचालनका लागि बीमा समितिले सो सम्वन्धी निर्देशिका जारी गरेको छ।
जसअनुसार यस्तो व्यवसाय संचालन गर्ने संगठित संस्थाको अधिकृत पूँजी कम्तीमा १० करोड हुनेछ। सोमध्ये ५० प्रतिशत चुक्ता पूँजी हुनुपर्नेछ। पुनर्बीमा दलाल कम्पनीका लागि लाइसेन्स दिइनेछ। लाइसेन्सविना कार्य गर्न पाइने छैन।
लाइसेन्स लिनका लागि बीमा समितिमा निवेदन दिनुपर्नेछ। संस्था दर्ता भएको प्रमाणपत्रको प्रतिलिपी, प्रवन्धपत्र तथा नियमावली, संभाव्यता अध्ययन प्रतिवेदन, सिइओ वा प्रमुख व्यवस्थापकको व्यक्तिगत विवरण, पूँजी बैंक खातामा जम्मा भएको पुष्टि निस्सा लगायतका विवरण समितिमा बुझाएर लाइसेन्स लिन सकिनेछ।
कुनै बीमक, पुनर्बीमकको संचालक, आधारभूत सेयरधनी, कर्मचारी वा पदाधिकारी, परामर्शदाता, सल्लाहकार, बीमक वा पुनर्बीमकसँग व्यवसायिक कारोबार भएकाले पुनर्बीमा दलाल व्यवसायमा संलग्न हुन पाउने छैनन्।
पुनर्बीमा दलाल कम्पनीहरुले पुनर्बीमितको तर्फबाट पुनर्बीमक तथा पुनर्बीमकको तर्फबाट अर्को पुनर्बीमकसँग मध्यस्थता गर्ने, पुनर्बीमा विशेषज्ञता सेवा र प्राविधिक परामर्श दिने कार्य गर्नेछन्।
पुनर्बीमा दावी भुक्तानी सहजीकरण गर्ने, पुनर्बीमा सम्झौता तयार गर्न सहयोग गर्ने, पुनर्बीमितको आवश्यकताअनुरुप पुनर्बीमा व्यवस्था गराउने, बीमक तथा पुनर्बीमकको सहमतिअनुसार 'कभरनोट' जारी गर्ने कार्य यस्ता दलाल कम्पनीहरुले गर्नेछन्।
हालै समितिले हिमालय पुनर्बीमा कम्पनी संचालनका लागि लाइसेन्स दिएको छ भने यसअघि नेपाल पुनर्बीमा कम्पनी संचालन भइरहेको छ।
नेपालमा दुई पुनर्बीमा कम्पनी संचालन हुने भएपछि अन्तर्राष्ट्रिय बजारबाट व्यवसाय ल्याउन पनि नेपालमै पुनर्बीमा दलाल कम्पनी जरुरत परेको हो।