निषेधाज्ञापछि पनि बैंकहरुमा संकलन भएको निक्षेप बराबर नै कर्जा प्रवाह भएको पाइएको छ।
काठमाडौं उपत्यका लगायत देशका विभिन्न ठाउँहरुमा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको थियो। त्यसयता जेठ १४ गतेसम्म वाणिज्य बैंकहरुमा ३३ अर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने कर्जा ३२ अर्ब प्रवाह भएको छ।
वैशाख १७ गतेसम्म ३९ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा जेठ १४ गतेसम्म आउँदा ३९ खर्ब ५६ अर्ब रुपैयाँ प्रवाह भएको छ।
त्यस्तै वैशाख १७ गतेसम्म ३५ खर्ब ९४ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा जेठ १४ गतेसम्म ३६ खर्ब २६ अर्ब रुपैयाँ प्रवाह भएको छ।
निषेधाज्ञाका अवधिमा बैंकहरुले नयाँ कर्जा स्वीकृत पनि गरेका छैनन्। तर यसअघि नै स्वीकृत भएको ऋण रकम अहिले झिकिँदा त्यसको असर देखिएको बैंकर बताउँछन्।
कर्जा प्रवाह र निक्षेपको वृद्धि बराबरजस्तै रहेकाले सिसिडी रेसियोका आधारमा पर्याप्त थप कर्जा प्रवाहका लागि बैंकहरु सहज अवस्थामा भने छैनन्। एसोसिएसनका अनुसार जेठ महिनाको औसत सिसिडी रेसियो ७९ प्रतिशत छ।
यसको अर्थ बैंकहरुसँग थप कर्जा प्रवाहका लागि औसतमा ६ प्रतिशतको मात्रै ठाउँ छ। बैंकहरुले संकलन गर्ने निक्षेप र मुल पुँजीबाट ८५ प्रतिशतसम्म कर्जा लगानी गर्न पाउँछन्।