आइतबार सेयर कारोबार रकम अहिलेसम्मकै उच्च भएको छ। यस दिन १४ अर्ब ७६ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ।
कारोबार रकममा नयाँ रेकर्ड बने पनि परिसूचक भने सामान्य घटेको छ। १. २ अंकले घटेर नेप्से २८१५ अंकमा कायम भएको छ।
समूहगत रुपमा हेर्दा यस दिन ब्यापार २८१, विकास बैंक ११४, जलविद्युत १३१, फाइनान्स ३६, निर्जीवन बीमा १४२ र उत्पादन ३२ अंकले बढे।
बैंकिङ ६, होटल तथा पर्यटन १४, अन्य २४, जीवन बीमा १३६ र माइक्रोफाइनान्स समूह १९१ अंकले घटेका छन्।
यस दिन जलविद्युत कम्पनीका लगानीकर्ताले बढी मूल्य कमाएका छन्। नेपाल हाइड्रो डेभलपर्स, खानीखोल हाइड्रो, युनाइटेड मोदी, अरुण काबेली, रिडी हाइड्रोपावर, जोशी, अपि, दिव्यश्वरी हाइड्रोपावरको मूल्य करिब १० प्रतिशतले बढेको छ।
राधी विद्युत, शिवश्री हाइड्रो, हिमाल दोलखा, सानिमा माइ, पन्चकन्या माइ, नेसनल हाइड्रोपावर, बुटवल पावर, युनियन हाइड्रोपावर, घलेम्दी, युनिभर्सल पावर र आँखु खोलाको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ।
यस दिन माइक्रोफाइनान्स कम्पनीका लगानीकर्ताले बढी गुमाएका छन्। समता लघुवित्त र मेरो माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ५ प्रतिशतले घटेको छ।
एनएमबि माइक्रोफाइनान्स, एनआइसी एसिया लघुवित्त, नेरुढे लघुवित्त, सूर्योदय, सिभिल लघुवित्त, आरम्भ चौतारी लघुवित्तको मूल्य साढे ४ प्रतिशत बढीले घटेको छ।
बैंकहरुले माइक्रोफाइनान्स कम्पनीको सेयर किन्न नपाउनेगरी राष्ट्र बैंकले निर्देशन गरेसँगै मूल्य घटेको हो। यस्ता कम्पनीको सेयर भएको खण्डमा बैंकहरुले पनि बेच्नुपर्ने बाध्यकारी व्यवस्था गरिएको छ।
अपि पावर, अरुण काबेली, चिमिले कारोबारका आधारमा क्रमशः सबैभन्दा अगाडि रहे।