नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको छ।
मौद्रिक समीक्षामार्फत गरिएका व्यवस्थालाई परिपत्रमार्फत निर्देशन दिँदै राष्ट्र बैंकले बैंकहरुलाई सेयर लगानीमा कडाइ गरेको हो।
सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयर तथा डिवेन्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्रै बैंकहरुले लगानी गर्न पाउने भएका छन्।
हालसम्म कुनै समयावधि तोकिएको थिएन। बैंक तथा वित्तीय संस्थाले कुनै पनि किसिमको प्रवन्धपत्रबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न पाउने छैनन्।
खरिद भएको एक वर्ष पुरा भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्रै बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ।
जेठ १० सम्म लगानी गरेका सेयर २०७९ असार मसान्तभित्र बिक्री गर्न भने यो व्यवस्थाले बाधा नगर्ने राष्ट्र बैंकले जनाएको छ।
विपन्न वर्ग कर्जामा गणना गर्ने प्रयोजनको लागि बाहेक घ वर्गको लघुवित्त वित्तीय संस्थाको सेयरमा लगानी गर्न पाइने छैन। हाल बैंकहरुले अरु लघुवित्त कम्पनीमा समेत सेयर लगानी गर्दै आएका छन्। जेठ १० सम्म त्यस्तो सेयर खरिद गरेको भएमा २०७८ पुस मसान्तभित्र बिक्री गरि सक्नुपर्ने भएको छ।
त्यस्तै मौद्रिक समीक्षामार्फत गरिएको व्यवस्थालाई पनि कार्यान्वयन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ। जसअनुसार कोभिड–१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको ७ दिनसम्म बैंक तथा वित्तीय संस्थाहरुले ग्राहकबाट कर्जा असुलीमा कुनैपनि प्रकारको पेनाल्टी वा अतिरिक्त शुल्क लिन पाउने छैनन्।
बैंक तथा वित्तीय संस्थाहरुले निक्षेप र कर्जाको व्याजदर परिवर्तनसम्बन्धी जानकारी सम्बन्धित ग्राहकलाई एसएमएस/इमेलमार्फत तत्काल उपलब्ध गराउनु पर्नेछ। निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुलीसम्बन्धी सूचना वा लिलामीसम्बन्धी सूचना जारी गर्न पाउने छैनन्।