बिहीबार सेयर बजारको परिसूचक नेप्से बैंकिङ समूहले बढाएको छ। यस दिन धेरैजसो समूहरु ओरालो लाग्दा बैंकिङ, विकास बैंक र फाइनान्स समूह भने उल्लेख्य बढे। यिनै समूहको दवावले नेप्से ६ अंकमा हरियो रह्यो।
६.३ अंकले बढेर नेप्से २७८७ अंकमा कायम भएको छ। प्रिओपनिङमा बजारले २८ सय अंक पार गरेको थियो। त्यसपछि भने उतारचढाव रह्यो।
यस दिनत ९ अर्ब ३० करोड रुपैयाँ बराबरको सेयर किनबेच भयो। बैंकिङ १७, विकास बैंक ११३ र फाइनान्स समूह ८९ अंकले बढेका छन्। अन्य समूह १ अंकले बढ्यो।
ब्यापार २२, होटल तथा पर्यटन १८, जलविद्युत ४२, निर्जीवन बीमा २३, उत्पादन ५६, माइक्रोफाइनान्स १३ र जीवन बीमा समूह ७८ अंकले घटेका छन्।
यस दिन मञ्जुश्री फाइनान्स, गुडविल फाइनान्स, समता माइक्रोफाइनान्स, गोर्खा फाइनान्स, युनाइटेड इदी मर्दी र जानाकी फाइनान्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
जलविद्युत कम्पनीका लगानीकर्ता गुमाउनेमा अगाडि रहे। पाँचथर पावरको मूल्य ६.५, खानीखोलाको ४.७, जोशीको ४.३ र रुरुको ३.८ प्रतिशतले मूल्य घटेको छ।
कारोबारका आधारमा नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड रुपैयाँ बराबरको कारोबार भयो। त्यस्तै बैंक अफ काठमाण्डुको ३४ करोड रुपैयाँ बराबरको कारोबार भयो।
नेपाल लाइफ इन्स्योरेन्स, नेपाल टेलिकम र सिभिल बैंक पनि कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।