निषेधाज्ञापछि पनि वाणिज्य बैंकहरुबाट कर्जा प्रवाह भएको देखिएको छ।
नेपाल बैंकर्स एसोसिएसनका अनुसार वैशाख १७ देखि ३१ गतेसम्म १७ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको छ। सोही अवधिमा १५ अर्ब रुपैयाँ निक्षेप थपिएको छ।
काठमाडौं उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाज्ञा गरिएको छ। मुलुकका अधिकांश जिल्लामा निषेधाज्ञा छ। यस्तो अवस्थामा पहिले नै स्वीकृत भएको कर्जा गएको बैंकर्स एसोसिएसनले जनाएको छ।
एसोसिएसनका अध्यक्ष भुवनकुमार दाहालले पहिले नै खोलिएका एलसीको रकम अहिले भुक्तानी हुँदा निषेधाज्ञापछि पनि कर्जा प्रवाह भएको हुन सक्ने बताए।
अन्यथा, अहिले मालपोत, यातायातजस्ता कार्यालय बन्द छन्। यसले गर्दा सवारीसाधन र घरजग्गाको कर्जा पनि गएको छैन।
त्यस्तै सेयर कारोबार भइरहेकाले सेयरमा पनि केही कर्जा गएको हुन सक्ने उनको भनाइ छ। पहिले स्वीकृत भएको तर नगएको कर्जा अहिले गएको बैंकर बताउँछन्।
एसोसिएसनको तथ्यांकअनुसार वैशाख १७ गतेसम्म ३९ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा ३१ गतेसम्म ३९ खर्ब ५५ अर्ब रुपैयाँ पुगेको छ। त्यस्तै १७ गतेसम्म कुल कर्जा प्रवाह ३५ खर्ब ९४ अर्ब रुपैयाँ भएकोमा ३१ गतेसम्म ३६ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ।