साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्सेमा नयाँ रेकर्ड बनेको छ।
आइतबार नेप्सेको अंकमा नयाँ रेकर्ड बनेको हो। ५४ अंकको उछाल आएसँगै परिसूचक २७३८ अंकमा पुगेको छ।
कारोबार बन्द हुँदाको यो अंक अहिलेसम्मकै उच्च हो। ठीक एक महिनाअघि नेप्सेले २७३५ अंकको उच्च रेकर्ड बनाएको थियो।
त्यस्तै कारोबार रकम पनि उल्लेख्य बढेको छ। १० अर्ब ४४ करोड रुपैयाँको सेयर किनबेच भएको छ। सबै समूहहरु बढेका छन्।
यस दिन बैंकिङ २७, ब्यापार ५१, होटल तथा पर्यटन ३५, विकास बैंक ११२, जलविद्युत ३०, फाइनान्स १६, निर्जीवन बीमा ५८४, उत्पादन ६३, अन्य ४५, माइक्रोफाइनान्स १०३ र जीवन बीमा समूह ५२८ अंकले बढेका छन्। त्यस्तै लगानी समूह २ अंकले बढेको छ।
यस दिन रुरु जलविद्युत परियोजना, शिखर इन्स्योरेन्स, समता माइक्रोफाइनान्स, प्रोग्रेसिभ फाइनान्स, सप्तकोसी विकास बैंक, बरुण हाइड्रोपावर र आइएमई जनरल इन्स्योरेन्सको मूल्य साढे ९ प्रतिशतभन्दा धेरैले बढेको छ। त्यस्तै विशाल बजार कम्पनीको मूल्य ९.३ प्रतिशतले बढेको छ।
यस दिन युनियन हाइड्रोपावरको मूल्य ५ प्रतिशतले घटेको छ। त्यस्तै आँखुखोला जलविद्युतको मूल्य ३.९ प्रतिशतले घटेको छ।
कारोबारका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी अग्रस्थानमा रह्यो। सो कम्पनीको ८५ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य करिब ४ प्रतिशतले बढेर प्रतिकित्ता १६४३ रुपैयाँ पुगेको छ।
त्यस्तै एनसिसी बैंकको ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो भने मूल्य २ प्रतिशतले बढेर ३७५ रुपैयाँ पुगेको छ।
नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २९ करोड रुपैयाँको कारोबार हुँदा मूल्य ३ प्रतिशतले बढेर ५४७ रुपैयाँ पुगेको छ।