साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेको परिसूचक १० अंकले बढेको छ। यस दिन ७ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।
यस दिन बैंकिङ ३, विकास बैंक ७१, जलविद्युत ३७, फाइनान्स ६०, निर्जीवन बीमा ५, अन्य १३, माइक्रोफाइनान्स ५ र जीवन बीमा समूह ८५ अंकले बढे।
ब्यापार २३, होटल १९ र उत्पादन समूह १८ अंकले घटेका छन्। यस दिन एक दर्जन कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
समता माइक्रोफाइनान्स, दिव्यश्वरी हाइड्रोपावर, विशाल बजार कम्पनी, रुरु जलविद्युत आयोजना, सांग्रिला डेभलपमेन्ट बैंक, जोशी हाइड्रोपावर, प्रोग्रेसिभ फाइनान्स, समृद्धि फाइनान्स, आखुखोला जलविद्युत, खानीखोला हाइड्रोपावर, बेस्ट फाइनान्स, युनियन हाइड्रोपावरको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
पुनर्बीमा कम्पनीको सबैभन्दा धेरै रकमको कारोबार भयो। कम्पनीको ४९ करोडको कारोबार हुँदा मूल्य २ प्रतिशतले बढेर १५८१ रुपैयाँ कायम भएको छ।
नेसनल हाइड्रोपावर, अरुण काबेली, हिमाल दोलखा र इन्भेष्टमेन्ट बैंक पनि कारोबारका आधारमा टप फाइभमा पर्न सफल भए।
रिडी हाइड्रोपावर र माउन्टेन हाइड्रोको २ प्रतिशत मूल्य घट्यो भने अरु घट्ने कम्पनीको गिरावट दर २ प्रतिशतमुनि रह्यो।
आज हिमालयन र इन्भेष्टमेन्ट बैंकबीच मर्ज सम्झौता हुँदैछ। अर्थात यी दुई कम्पनीको सेयर कारोबार आज अन्तिम हो।
यस दिन इन्भेष्टमेन्टको मूल्य ७ रुपैयाँले बढेर ४६० रुपैयाँ पुग्यो। तर हिमालयन बैंकको मूल्य ३ रुपैयाँले घटेर ४८४ रुपैयाँमा झरेको छ। अब राष्ट्र बैंकले स्वीकृति दिएर दुबै बैंक मर्ज भएपछि मात्रै सेयर कारोबार खुल्नेछ।