नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनी र मर्चेन्ट बैंकहरुलाई एउटा कार्यालयमा ३ कर्मचारी मात्रै राखेर काम गर्न निर्देशन दिएको छ।
हाल लगानीकर्ताले घरबाटै अनलाइन प्रणालीमार्फत सेयर खरिदबिक्रीको आदेश दिने गरेका छन्। सिस्टम संचालनबाहेक भौतिक उपस्थित नभई कार्य गर्न बोर्डले भनेको छ। सिस्टम संचालनका लागि भने ३ जनाभन्दा बढी कर्मचारी नराख्न आग्रह गरेको छ।
सिस्टम सपोर्ट र सूचना प्रविधिसम्वन्धी कार्य घरबाट नै संचालन गर्ने व्यवस्था मिलाउन बोर्डले भनेको छ।
गुनासा तथा समस्या समाधानका लागि प्रयोग भइरहेको कार्यालयको फोनलाई कल डाइभर्ट गरी घरैबाट त्यस्ता सुविधा उपलव्ध गराउने व्यवस्था मिलाउन र थप मोबाइल नम्वरहरु उपलव्ध गराउन बोर्डले भनेको छ।
साना लगानीकर्तालाई दैनिक घरखर्च वा औषधि उपचारको लागि सेयर बेचेको अवस्थामा लगानीकर्ताले अनुरोध गरेमा सम्भव भएसम्म आवश्यकताअनुसारको रकम तत्काल उपलव्ध गराइदिन बोर्डले निर्देशन दिएको छ।