अन्ततः लामो समयको प्रयासपछि भोलि बिहीबार हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्ज सम्झौता (एमओयू) हुने भएको छ। स्रोतका अनुसार भोलि एमओयू गर्नेगरी तयारी पुरा भएको छ।
मर्जका लागि सबै विषयले मोटामोटी टुंगो पाइसकेको छ। कर्मचारी व्यवस्थापन, स्वाप रेसियो, संचालक समिति, माथिल्लो व्यवस्थापन टिम लगायतका विषय मिलिसकेको छ।
मिलेका विषयमा मर्जपछि बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहनेछ। बैंकको अध्यक्षमा हालका इन्भेष्टमेन्टका अध्यक्ष पृथ्वीबहादुर पाण्डे रहनेछन्।
त्यस्तै प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिमालयन बैंकका हालका अशोक शमशेर राणा नै रहनेछन्। उनीपछिको कार्यकाल इन्भेष्टमेन्टका हालका ज्योति पाण्डेले सम्हाल्नेछन्।
स्वाप रेसियो १ बराबर १ नै हुनेछ। यसको अर्थ हिमालयन वा इन्भेष्टमेन्ट बैंकको जति कित्ता सेयर लगानीकर्तासँग छ, मर्जपछि बन्ने बैंक ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट’को सेयर पनि त्यति नै हुनेछ।
मर्जर कमिटीले गरेका निर्णयलाई दुबै बैंकको बोर्ड बैठकले सदर गरेको अवस्था छ।
हाल हिमालयनको कुल कर्जा प्रवाह १ खर्ब २७ अर्ब तथा इन्भेष्टमेन्टको १ खर्ब ६० अर्ब छ। मर्जपछि बैंकको कुल कर्जा प्रवाह २ खर्ब ९० अर्बको हाराहारी हुनेछ।
यस आर्थिक वर्षको चैत मसान्तसम्म इन्भेष्टमेन्टले कुल २ अर्ब ८४ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने हिमालयनले १ अर्ब २८ करोड कमाएको छ।