निषेधाज्ञामा यात्रुसँग चर्को भाडा असुल्ने थप चार जना पक्राउ परेका छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले आइतबार चार जनालाई पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले जानकारी दिए।
पक्राउ पर्नेमा विशेषगरी टिकेट काउन्टरका कर्मचारी छन्। ट्राफिक प्रहरीले काठमाडौंको ढुङ्गेधाराबाट बझाङ्ग जयपृथ्बी नगरपालिका– ८ का २४ वर्षीय योगेन्द्र बोहोरा र ३० वर्षीय आकाश बिष्टलाई पक्राउ गरेको हो। उनीहरूले ना ८ ख ८४९४ नम्बरको शुभ बिहानी यातायातमार्फत् धनगढी जाने यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएका हुन्।
त्यसैगरी थाहा नगरपालिका ३ हेटौडा घर भइ बालाजु बस्ने ३२ वर्षीय अमृत बिष्ट र गोरखा घर भई मित्रनगर बस्ने ४५ वर्षीय सोमबहादुर गुरुङ्गलाई नयाँ बसपार्कबाट पक्राउ गरेको हो। उनीहरूले धनगढी जाने यात्रुसँग प्रति ब्यक्ति चार हजार देखि साढे चार हजार सम्म लिने गरेको महाशाखाले जनाएको छ।
पक्राउ परेका चार जनालाई आबश्यक कारबाहीको लागी प्रहरी बृत्त बालाजुमा बुझाएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार निषेधाज्ञाको समयमा वैदेशिक रोजगारबाट फर्किने र घर फर्किने यात्रुहरूबाट ६ गुणा बढी सम्म भाडा लिएर ठगी गरेको पाइन्छ।
यसलाई निगरानी गर्न महाशाखाले विशेष टोली गठन गरेको छ। सोअनुसार अहिलेसम्म यात्रु ठग्ने २१ जना पक्राउ परिसकेका छन्।