कुनै बैंक तथा वित्तीय संस्थाप्रति तपाईको गुनासो छ? यदि छ, भने तपाईंले घरमै बसेर राष्ट्र बैंक समक्ष उजुरी गर्न सक्नुहुन्छ।
राष्ट्र बैंकको वेबसाइट गुनासो डट् एनआरबी डट ओआरजी डट् एनपी (gunaso.nrb.org.np) बाट गुनासो गर्न सकिनेछ।
सो साइट खुलेपछि 'लग अ कम्प्लेन्ट'मा क्लिक गर्न सकिन्छ। त्यहाँ क्लिक गरिसकेपछि आफ्नो नाम, मोबाइल नम्वर, इमेल ठेगाना लगायत विवरण भर्ने फारम आउँछ।
गुनासोको आधार, गुनासोको विषय लगायत छनौट गरी 'सबमिट फारम' गरेपछि राष्ट्र बैंकमा पुग्नेछ। गुनासो दर्ता भइसकेपछि दर्ता भएको जानकारी र दर्ता नम्वर इमेल ठेगानामै प्राप्त हुनेछ।
त्यसपछि गुनासो दर्ता नम्वरद्वारा पेश गरिएको गुनासोको स्थिति थाहा पाउन सकिने राष्ट्र बैंकले जनाएको छ। बैंकका अनुसार दर्ता भएको गुनासोको अन्तिम निर्णय इमेलमार्फत नै जानकारी गराइनेछ।
वित्तीय ग्राहकलाई वित्तीय सेवा प्रदायकबाट हुने असहयोग, ढिलासुस्ती, बेवास्ता, पक्षपात, गैर जिम्मेबारी, लापरवाही, झुठो, गलत सूचना संप्रेषण, अपारदर्शी कारोवार जस्ता नकारात्मक व्यवहारलाई यसले न्यूनीकरण गर्ने राष्ट्र बैंकको भनाइ छ।
त्यस्तै वित्तीय सेवा प्रदायकले आफूले प्रदान गर्ने सेवा सम्बन्धमा न्यूनतम मापदण्ड पुरा गरी वित्तीय ग्राहकलाई निष्पक्ष र समान वित्तीय मध्यस्थता सेवा प्रदान वा प्राप्त गर्न वा गराउन प्रोत्साहन गर्ने राष्ट्र बैंकको विश्वास छ।
वित्तीय सेवा प्रदायकवाट नीति निर्देशन विपरीत निक्षेप संकलन, कर्जा प्रवाह, कर्जा असुली लगायत अन्य वित्तीय मध्यस्थता सेवा प्रवाहमा गरिने विभेद तथा क्षतिलाई यसले न्यूनीकरण गर्ने र वित्तीय कारोवार गर्ने ग्राहकको मनोबल उच्च राख्ने राष्ट्र बैंकको दावी छ।