बीमा कम्पनीमा आफूलाई अग्रस्थानमा राख्दै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी २१ औं वर्षमा प्रवेश गरेको छ।
वि.स. २०५८ साल वैशाख २१ गते स्थापना भएको नेपाल लाइफ इन्स्योरेन्सले बीमित तथा सेवाग्राहीहरुलाई निरन्तर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ।
२१ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले देशका दूरदराज, कुनाकन्दरासम्म बीमाको पहुँच पुर्याउँदै नेपाल लाइफले सर्वसाधारणको जीवनमा आइपर्ने जोखिममा आर्थिक भार कम गर्न मद्दत पुर्याएको बताए।
आगामी दिनमा पनि सबैको सहयोग, सद्भाव र मार्गदर्शन पाइरहने अपेक्षा गर्दै उनले कम्पनी र सेवाग्राहीबीचको मजबुत सम्वन्ध कायम रहने विश्वास व्यक्त गरे।
कम्पनीलाई यो स्थानसम्म ल्याउन नियमनकारी निकाय, संचालक समिति, शेयरधनी लगायत सबैबाट सहयोग पाएको उनले बताए। त्यस्तै बीमित, अहोरात्र खटिएका अभिकर्ता तथा सम्पूर्ण कर्मचारीलाई उनले धन्यवाद ज्ञापन गरे।
नेपाल लाइफले प्रविधिमैत्री सेवा प्रदान गर्दै आएको छ। नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु ई–सेवा, खल्ती, कनेक्ट आइपीएस, फोन पे, आईएमई पे तथा प्रभु पे लगायतबाट अनलाइन भुक्तानी गर्न सकिन्छ।
करिब एक तिहाइ बजार हिस्सा ओगट्न सफल यस कम्पनी जीवन बीमा क्षेत्रमा हरेक सूचकांकले अब्बल सावित भएको छ।
बीमा कम्पनीमध्ये नेपाल लाइफले सर्वाधिक १ खर्ब ११ अर्ब ४७ करोड रुपैयाँ लगानी गरेको छ। जीवन बीमा कोषको आकार सबैभन्दा ठूलो १ खर्ब १ अर्ब २८ करोड रुपैयाँ बराबरको छ।
कम्पनीको शेयरधनी कोष ८ अर्ब ८५ करोडभन्दा बढीको छ। चुक्ता पुँजीका आधारमा पनि कम्पनी सबैभन्दा मजबुत छ। यसको ७ अर्ब १९ करोड चुक्ता पुँजी छ।
कम्पनीले सर्वाधिक आंशिक अवधि भुक्तानी ११.९८ अर्ब, सर्वाधिक पूर्ण अवधि भुक्तानी ९.७७ अर्ब तथा सर्वाधिक मृत्युदावी ३.७३ अर्बभन्दा बढि भुक्तानी गरिसकेको छ।
कम्पनीमा १ लाख ७६ हजार ४३ प्रशिक्षित अभिकर्ता छन्। कम्पनीले आफ्ना सेवाग्राही तथा ग्राहकका लागि देशभर फैलिएका आफ्ना २ सय शाखा तथा उपशाखामार्फत जीवन बीमासम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराइरहेको छ।
यस कम्पनीमा हालसम्म वैदेशिक रोजगार समेत गरी २८ लाख ८२ हजार ३ सय ४२ व्यक्ति बीमित छन्।
ग्राहकहरूको हितलाई ध्यानमा राखी कम्पनीले समयसापेक्ष आवश्यकता अनुसार सेवा तथा सुविधामा परिमार्जन एवं परिष्कृत गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको छ।