कोरोना संक्रमणको जोखिम बढेको भन्दै बीमा कम्पनीहरुलाई नियामक बीमा समितिले सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गर्न निर्देशन दिएको छ।
सबै कम्पनीहरुलाई परिपत्र जारी गर्दै समितिले कार्यालयमा मास्क, साबुन, पानी र सेनिटाइजरको अनिवार्य व्यवस्था र प्रयोग गर्न भनेको छ।
प्रवेश गर्ने सेवाग्राहीको ज्वरो जाँच तथा सुरक्षाको उपाय अवलम्वन गरेर मात्रै सेवा दिन भनेको छ। भौतिक दूरी कायम गरी भीडभाड नहुनेगरी सेवाग्राहीलाई सेवा प्रवाह गर्न समितिले आग्रह गरेको छ।
सकेसम्म विद्युतीय माध्यमबाट दिन सकिने सेवालाई सोअनुसार प्रवाह गर्न आग्रह गरेको छ।
बीमा कम्पनीहरुले गर्ने अभिकर्ता तालिम, सेमिनार, बैठकजस्ता कार्यक्रम भौतिक दूरी कायम गरेर मात्रै सकेसम्म भर्चुअल माध्यमबाट संचालन गर्न भनिएको छ।
कार्यरत कर्मचारीमा शंका लागेमा तुरुन्त परीक्षणको व्यवस्था मिलाउने, आइसोलेसन गर्ने, कन्ट्याक ट्रेसिङमा परेका कर्मचारीलाई आवश्यक होम आइसोलेसनको व्यवस्था गर्न पनि निर्देशन दिइएको छ।
कर्मचारीको कार्यविभाजन गरी, सकेसम्म कम कर्मचारी उपस्थित गराई सेवा प्रदान गर्ने व्यवस्था मिलाउन समितिले भनेको छ।