अजोड इन्स्योरेन्सको हकप्रद शेयर निष्काशन गर्ने सूचना सार्वजनिक हुनु अघि नै सेयर मूल्यमा १० प्रतिशतको उच्च वृद्धि भएपछि धितोपत्र बोर्डले अध्ययन गर्नका लागि एक उपसमिति बनाएको छ।
सूचना सार्वजनिक गर्नुअघि नै भित्री कारोबार अर्थात इन्साइडर ट्रेडिङ भएको आशंका गरिएको छ।
‘अघिल्लो दिन बिना कुनै सूचना १० प्रतिशतले मूल्य बढेर पनि सेयर किन्न नपाउने, भोलिपल्ट मात्रै हकप्रद जारी हुने भन्ने सूचना नै इन्साइडर ट्रेडिङको पुष्टि हुनु हो’ एक लगानीकर्ताले भने।
निर्देशकको संयोजकत्वमा गठित उपसमितिले जाँचबुझ कार्य अघि बढाइसकेको बोर्डले जनाएको छ। एक विज्ञप्ति जारी गर्दै बोर्डले अजोडका सम्बन्धमा कुनै भित्री कारोवार भएको पाइएमा नियमानुसार कारवाही अगाडि बढाइने जनाएको छ।
चैत १६ गते कम्पनीको मूल्य १० प्रतिशतले बढेको थियो। मूल्य १० प्रतिशतले बढ्दा पनि किन्न चाहनेले पाएका थिएनन्। चैत १७ गते मात्रै कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्नेबारे सूचना जारी गरेको थियो। साधारणसभामा सो प्रस्ताव लैजाने गरी कम्पनीले सार्वजनिक सूचना जारी गरेको थियो।
बोर्डले चैत १८ गते सो सम्बन्धी कारोबारको अवस्था, प्रारम्भिक सुपरिवेक्षणमा देखिएको विवरण तथा कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गर्न नेपाल स्टक एक्सचेञ्जलाई पत्राचार गरेको थियो।
नेप्सेले सो कारोबार सम्बन्धी विवरण बोर्डमा पेश गरेको छ। बजारका स्थापित मूल्य, मान्यता अनुरुप बजारलाई स्वच्छ र पारदर्शी रुपमा सञ्चालन गर्न बोर्डले आग्रह समेत गरेको छ।
इन्साइडर ट्रेडिङको सम्वन्धमा सितिमिति प्रमाण जुट्दैन। यस्तो प्रमाण जुटाउन नसक्दा नियामकलाई समेत कारबाहीको दायरामा ल्याउन असहजता हुने गरेको छ।
नियामकले अति सुक्ष्म रुपमा अध्ययन गरेर कारबाहीको दायरामा ल्याउन सक्नुपर्ने अन्यथा कारबाही नभएमा यस्ता गतिविधि फेरि पटक पटक दोहोरिने लगानीकर्ता बताउँछन्।
कम्पनीका उच्च अधिकारीले नै यो सूचना चुहाएको हुन सक्ने लगानीकर्ताको अनुमान छ। ‘अध्यक्ष वा सिइओले नै यस्तो गतिविधि गरेको हुन सक्छ’ अर्का एक लगानीकर्ताले भने।