सोमबार सेयर बजारको परिसूचक नेप्से १ अंकले बढेर नयाँ उचाइ कायम गरेको छ। यस दिनको कारोबारपछि परिसूचक २६५८ अंकमा कायम भएको छ। यो अंक अहिलेसम्मकै उच्च हो। हिजो मात्रै नेप्सेले नयाँ उचाइ बनाएको थियो।
यस दिन ७ अर्ब २९ करोड रुपैयाँको सेयर कारोबार भएको छ। रकमका आधारमा हिजोको तुलनामा कारोबार रकम खुम्चिएको छ। हिजो ९ अर्ब रुपैयाँको किनबेच भएको थियो।
यस दिन बैंकिङ ११, विकास बैंक १३, निर्जीवन बीमा १०६ र जीवन बीमा ३८ अंकले घटेका छन्। लगानी र फाइनान्स समूह १ अंकमुनि रातो रहे।
ब्यापार १३२, होटल तथा पर्यटन ११४, जलविद्युत ४६, उत्पादन २४, अन्य ३३, माइक्रोफाइनान्स ३४ अंकले बढेका छन्।
४ कम्पनीको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ।
एनआइसी एसिया लघुवित्त, राधी विद्युत, ओमी माइक्रोफाइनान्स र सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशतको हाराहारीमा बढेको छ। आजको कारोबारपछि एनआइसी एसिया लघुवित्तको मूल्य १०५७, राधीको ४८५, ओमीको १६५८ र सानिमा जनरलको मूल्य ९ सय रुपैयाँ कायम भएको छ।
श्री इन्भेष्टमेन्ट फाइनान्सको मूल्य ३ प्रतिशतले घट्यो। कारोबारका आधारमा यस दिन माथिल्लो तामाकोसी अग्रस्थानमा रह्यो। सो कम्पनीको ३४ करोड रुपैयाँ बराबरको कारोबार हुँदा मूल्य ५ प्रतिशतले बढेर प्रतिकित्ता ९०८ रुपैयाँ कायम भएको छ।
त्यस्तै आइएमई जनरल इन्स्योरेन्सको ३१ करोड रुपैयाँ बराबरको कारोबार भयो। कम्पनीको मूल्य सामान्य घटेर १२९७ रुपैयाँ कायम भएको छ। निफ्रा, हिमालयन जनरल इन्स्योरेन्स र टेलिकम कारोबारका आधारमा उत्कृष्ट पाँचभित्र पर्न सफल भए।