सोमबार एकाएक अजोड इन्स्योरेन्स कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढ्यो। कम्पनीको मूल्य प्रतिकित्ता ७७६ रुपैयाँ कायम भयो।
अजोडको एकाएक मूल्य आकासिनुको कारणबारे सबैजसो लगानीकर्ता अनभिज्ञ रहे। मूल्य बढिसकेपछि अन्जानमै धेरै लगानीकर्ताले खरिदका लागि अर्डर दिए। तैपनि सेयर खरिद गर्न पाएनन्।
कम्पनीले मंगलबार मात्रै एक दैनिक पत्रिकामा साधारणसभा बस्नेसम्वन्धी सूचना जारी गर्यो। सूचनाअनुसार साधारणसभामा ५० प्रतिशत हकप्रद प्रस्ताव गर्ने जानकारी दिइएको थियो। साधारणसभा बस्ने सम्वन्धी विशेष प्रस्तावमा भनिएको छ ‘हाल कायम रहेको कम्पनीको चुक्ता पुँजीको ५० प्रतिशत अर्थात प्रत्येक २ कित्ता सेयर बराबर १ कित्ताको दरले हकप्रद शेयर जारी गर्नेबारे।’
यो सूचनापछि मंगलबार पनि कम्पनीको मूल्य १० प्रतिशतले बढ्यो। सो मूल्य बढेर पनि खरिद गर्न चाहनेले किन्न पाएनन्। ६ लाखभन्दा बढी लगानीकर्ताले बढेको मूल्य प्रतिकित्ता ८५३ रुपैयाँमा किन्न चाहँदा पनि पाएनन्।
सेयर लगानीकर्ता दवाव समूहका महासचिव नयन बास्तोलाले यो इन्साइडर ट्रेडिङ नै भएको बताए। यसरी भित्री सूचनाको आधारमा रहेर सेयर खरिदबिक्री गर्नु नै इन्साइडर ट्रेडिङ हो।
‘अघिल्लो दिन बिना कुनै सूचना १० प्रतिशतले मूल्य बढेर पनि सेयर किन्न नपाउने, भोलिपल्ट मात्रै हकप्रद जारी हुने भन्ने सूचना नै इन्साइडर ट्रेडिङको पुष्टि हुनु हो’ उनले सेतोपाटीसँग भने।
इन्साइडर ट्रेडिङको सम्वन्धमा सितिमिति प्रमाण जुट्दैन। यस्तो प्रमाण जुटाउन नसक्दा नियामकलाई समेत कारबाहीको दायरामा ल्याउन असहजता हुने गरेको छ।
बास्तोला भन्छन् ‘यसमा नियामकले अति सुक्ष्म रुपमा अध्ययन गरेर कारबाहीको दायरामा ल्याउन सक्नुपर्छ, अन्यथा कारबाही नभएमा यस्ता गतिविधि फेरि फेरि पटक पटक दोहोरिने छन्।’
कम्पनीका उच्च अधिकारीले नै यो सूचना चुहाएको हुन सक्ने लगानीकर्ताको अनुमान छ। ‘अध्यक्ष वा सिइओले नै यस्तो गतिविधि गरेको हुन सक्छ’ अर्का एक लगानीकर्ताले भने।
३४ नम्बर ब्रोकर (भिजन सेक्युरिटिज) बाट पनि सोमबार यो सूचना बाहिरिएको उनले दावी गरे। नाम उल्लेख नगर्ने शर्तमा उनले भने ‘हिजो नै सो ब्रोकरले आफ्ना लगानीकर्तालाई हकप्रद जारी हुँदैछ भनेर जानकारी गराएको थियो, स्वयम् मलाई पनि एक साथीले यो जानकारी गराएका थिए।’
यता नेप्सेले यसबारेमा ध्यानाकर्षण भएको जनाएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले भने ‘यसबारे हाम्रो ध्यानाकर्षण भएको छ, यसबारेमा अध्ययन गरिनेछ।’