साढे ९ प्रतिशत ब्याज पाइने एनसिसी बैंकको ऋणपत्रमा आवेदन खुलेको छ। ३ अर्ब रुपैयाँ बराबरको कुल ३० लाख कित्ता ऋणपत्र बैंकले निष्कासन गर्न लागेको हो।
जसमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख सर्वसाधारणलाई बिक्री गरिनेछ। इच्छुक आवेदकले आफ्नो बैंक खाता रहेको जुनसुकै शाखामार्फत यसमा आवेदन दिन सक्नेछन्। साथै मेरो सेयर अनलाइनमार्फत पनि आवेदन दिन सकिन्छ।
ऋणपत्रमा लगानी गरेवापत लगानीकर्ताले वार्षिक ९. ५ प्रतिशत ब्याज पाउने छन्। प्रत्येक ६-६ महिनामा यस्तो ब्याज भुक्तानी हुन्छ। हाल चलनचल्तीमा रहेको वाणिज्य बैंकको मुद्दती निक्षेपको ब्याजदरभन्दा बढी प्रतिफल यसमा पाइन्छ।
१० वर्षपछि मात्रै साँवा र अन्तिम ब्याजको किस्ता प्राप्त हुनेछ। अंकित मूल्य प्रतिकित्ता १ हजार रहने यस्तो ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात २५ हजार रुपैयाँ लगानी गर्नुपर्छ। आवेदन दिनका लागि छिटोमा चैत १८ गतेसम्मको मिति तोकिएको छ।
ऋणपत्रमा लगानी गर्दाको फाइदा के ?
ऋणपत्रमा लगानी गरेपछि तोकिएकै अवधिसम्म स्थिर रुपमा तोकिएको ब्याज पाइन्छ। अर्थात बैंकहरुले ब्याजदर घटाउन पाउँदैनन्।
बैंकको नाफा, घाटा, चलनचल्तीको ब्याजदर जेसुकै भए पनि ऋणधनीलाई तोकिएको ब्याज दिइरहनु पर्छ। ऋणपत्रको साँवा रकम भुक्तानीका लागि बैंकहरुले प्रत्येक वर्ष नाफाबाट सेयरधनीलाई लाभांश दिनुअघि नै कोषमा रकम सार्दछन्।
यस्तो ऋणपत्र धितो राखेर सम्वद्ध बैंकबाहेक अरु बैंकबाट ऋण पनि लिन पाइन्छ। सेयरमा भन्दा ऋणपत्रको जोखिम कम हुन्छ। कम्पनीहरु नाफामा गएपछि मात्रै सेयरधनीले लाभांश पाउने हुन्।
तर सेयरधनीलाई लाभांश दिनुपहिले नै ऋणपत्रधनीलाई ब्याज छुट्याइन्छ। कम्पनी नोक्सानमै गए पनि ऋणपत्रधनीलाई ब्याज र साँवा चुक्ता गर्नुपर्छ। तसर्थ ऋणपत्रको जोखिम ज्यादै न्यून हुन्छ।
धितोपत्र बजार (नेप्से) मा ऋणपत्र खरिदबिक्री गर्न पनि पाइन्छ। तर खरिद गर्नेहरु नहुँदा बजारमा सितिमिति ऋणपत्रको कारोबार भएको पाइँदैन। यदि खरिद गर्ने र बिक्री गर्ने दुवै पक्ष तयार भएमा दोस्रो बजारबाट खरिदबिक्री हुन सक्नेछ।
सेयरमाजस्तो साधारणसभामा भाग लिने अधिकार भने ऋणपत्रधनीलाई हुँदैन। धेरै रकम ऋणपत्रमा लगानी गर्नेले पान नम्वर खुलाउनुपर्ने हुन्छ।