राष्ट्र बैंकले मोबाइल तथा इन्टरनेट बैंकिङमार्फत गरिने कारोबार रकमको सीमा बढाएको छ। विद्युतीय भुक्तानी प्रणाली सम्वन्धी एकीकृत निर्देशनलाई संशोधन गर्दै राष्ट्र बैंकले यी दुई उपकरणको कारोबार सीमा बढाएको हो।
अब मोबाइल बैंकिङमार्फत दैनिक २ लाख रुपैयाँसम्मको कारोबार गर्न सकिनेछ। यसअघि यो सीमा १ लाख रुपैयाँसम्मको थियो।
त्यस्तै इन्टरनेट बैंकिङमार्फत हुने कारोबारको सीमा दैनिक २० लाख पुर्याइएको छ। यसअघि यस्तो कारोबारको सीमा १० लाख रुपैयाँ तोकिएको थियो।
कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न यो सीमाले बाधा नपुर्याउने राष्ट्र बैंकले जनाएको छ।
त्यस्तै सरकारको सम्वन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजश्व, जरिवाना, सवारी दस्तुर लगायत सेवा शुल्क भुक्तानीमा पनि यो सीमाले बाधा पुग्ने छैन। अर्थात सीमाभन्दा बढी रकम भुक्तानी गर्न पाइनेछ।
विद्युत, टेलिकम, खानेपानी, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ता रकमको भुक्तानीका लागि पनि सीमा लागू हुने छैन।
स्कुल कलेज, स्वास्थ्य संस्था, हवाइ सेवा, यातायात, होटल तथा रेष्टुरेन्टको सेवावापत कारोबारको भुक्तानी गर्नुपर्ने बील बमोजिमको रकम भुक्तानी गर्न र सेयर कारोबारको भुक्तानी गर्न पनि सीमाले बाधा नपुर्याउने राष्ट्र बैंकले स्पष्ट पारेको छ।