सञ्चार माध्यमलाई प्राथमिक सेयर (आइपिओ)को नतिजा प्रकाशन गर्न राेक लगाएपछि लगानीकर्ता समस्यामा परेका छन्। आइपिओ बाँडफाँड भएको लामो समयसम्म पनि नतिजा हेर्न नपाएको लगानीकर्ताले गुनासो गरेका छन्।
सिडिएस एण्ड क्लियरिङले आइपिओको नतिजा सम्वन्धित कम्पनीको वेबसाइट, बिक्री प्रवन्धकको वेबसाइट र सिडिएससीको मेरो सेयरमार्फत मात्रै हेर्न पाइने व्यवस्था गरेको छ।
आज मात्रै महिला लघुवित्तको आइपिओ बाँडफाँड भएको छ। बाँडफाँड भएको ४ घण्टा बितिसक्दा पनि लगानीकर्ताले नतिजा हेर्न पाएका छैनन्।
लगानीकर्ता पिताम्बर शर्मा खरेल भन्छन् ‘आइपिओको नतिजा हेर्न सकिएको छैन, सञ्चार माध्यमलाई नदिने निर्णय राम्रो हो, तर सिडिएससीले कुनै आन्तरिक गृहकार्यविना गरेको निर्णयले असर परेको हो।’
सिडिएस एण्ड क्लियरिङका सिइओ पूर्णप्रसाद आचार्यले बिनियमावलीअनुसार नै सञ्चारमाध्यमलाई आइपिओको नतिजा नदिन निर्देशन दिइएको बताए।
‘आफ्ना विवरण गोप्य राख्नुपर्ने भनेर लगानीकर्ताले समेत सुझाव दिँदै आएका थिए, बिनियमावलीले पनि यो अधिकारलाई सुनिश्चित गरेकाले हामीले सञ्चार माध्यमलाई नतिजा नदिन निर्देशन दिएका हौं’ उनले भने।
आइपिओको जिम्मा लिने बिक्री प्रवन्धकले नै नतिजा सार्वजनिक गर्नका लागि आफ्नो वेबसाइट चुस्त राख्नुपर्ने उनले बताए।
यसअघि पनि मेरो सेयरमा बारम्बार समस्या आउने गरेको छ। मेरो सेयरमार्फत नै लगानीकर्ताले आइपिओ भर्छन्, त्यस्तै दोस्रो बजारबाट बिक्री गरिसकेपछि सेयर हस्तान्तरणका लागि पनि यसैमार्फत प्रक्रिया चाल्नुपर्छ।
आइपिओको नतिजा समेत यसबाटै हेर्नुपर्ने बाध्यता गरिएपछि लोड बढ्न गई समस्या आएको हो। त्योबाहेक महिला लघुवित्त र बिक्री प्रवन्धक एसबिआई मर्चेन्ट बैंकिङको वेबसाइट खुलेका छैनन्।