सेयर बजारको परिसूचक नेप्से सोमबार ३२.६७ अंकले घटेको छ। ११ दिनको अन्तरालपछि बजार सो अंकले घटेको हो। सो अंकको गिरावटपछि परिसूचक २६०७ अंकमा कायम भएको छ।
यस दिन ८ अर्ब ४० करोड रुपैयाँको सेयर किनबेच भएको छ। समूहगत रुपमा हेर्दा जलविद्युत ४५ र अन्य समूह २७ अंकले बढे भने अरु सबै समूह घटेका छन्।
बैंकिङ ५२, ब्यापार ९२, होटल २१, विकास बैंक ६४, फाइनान्स १३, निर्जीवन बीमा १०८, उत्पादन ५६, माइक्रोफाइनान्स ५६ र जीवन बीमा ३५१ अंकले घटेका छन्।
यस दिन नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र आँखुखोला जलविद्युतको मूल्य १० प्रतिशतले बढेको छ। त्यस्तै नेपाल हाइड्रो डेभलपर्स, माथिल्लो तामाकोसी, चन्द्रागिरि हिल्स, शिवश्री हाइड्रोपावर र सनराइज फस्ट म्युचुअल फण्डको मूल्य करिब १० प्रतिशतले बढेको छ।
निफ्राको मूल्य प्रतिकित्ता ६६० रुपैयाँ पुगेको छ। त्यस्तै माथिल्लो तामाकोसीको ५९२ र चन्द्रागिरि हिल्सको मूल्य २९५ रुपैयाँ पुगेको छ।
कारोबारका आधारमा यस दिन एनआइसी एसिया बैंक अग्रस्थानमा रह्यो। सो कम्पनीको ३८ करोड रुपैयाँ बराबरको कारोबार भयो भने दोस्रो स्थानमा रहेको निफ्राको ३२ करोडको सेयर किनबेच भयो।
यस दिन सेन्चुरी कमर्सियल बैंकको मूल्य सबैभन्दा धेरै ५.५ प्रतिशतले घटेको छ त्यस्तै सिभिल बैंकको मूल्य ५.३ प्रतिशतले घट्यो। मेगा बैंकको मूल्य ५.२ प्रतिशतले घटेको छ।