सेयर बजार ऐतिहासिक बिन्दुमा पुगेपछि सरकारलाई प्राप्त हुने पुँजीगत लाभकर १२. ४ गुणाले बढेको छ।
साउनदेखि माघसम्म कुल ५ अर्ब ८० करोड रुपैयाँ पुँजीगत लाभकर उठेको सिडिएस एण्ड क्लियरिङका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।
जवकि गत वर्षको यस अवधिमा जम्मा ४६ करोड ५० लाख रुपैयाँ मात्रै यस्तो लाभकर उठेको थियो।
‘सेयर बजार बढेकै कारण सरकारलाई उठ्ने पुँजीगत लाभकर पनि बढेको देखिन्छ’ न्यौपानेले भने।
साउन १ गते बजारको परिसूचक १३८६ अंकमा थियो भने माघ १ गते २५३७ अंकमा पुगेको थियो।
बजारको बढेको अंकलाई पुँजीगत लाभकरसँग तुलना गर्ने हो भने १ अंक बढ्दा सरकारलाई औसतमा ५० लाख ३९ हजार रुपैयाँ राजश्व संकलन भएको छ।
नेप्सेको अंक मात्रै बढेको छैन, बजारमा कारोबार पनि बढेको छ। हाल दैनिक ७ देखि साढे १० अर्बको सेयर किनबेच हुने गरेको छ। साउनमा दैनिक १ देखि ३ अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको थियो।
लगानीकर्ताले सेयर बेच्दा पाउने नाफा (किनेको मूल्यबाट बेचेको मूल्य घटाउँदा आउने रकम) बाट पुँजीगत लाभकर कटौती हुन्छ।
बोनस सेयरका हकमा भने १ सय रुपैयाँलाई आधार बनाएर बेचेको मूल्य घटाई पुँजीगत लाभकर तिर्नुपर्छ।
व्यक्तिगत लगानीकर्ताले खुद नाफाबाट ५ प्रतिशत यस्तो लाभकर तिर्नुपर्छ भने संस्थागत लगानीकर्तालाई साढे ७ प्रतिशत तोकिएको छ।
यसलाई उदाहरणका रुपमा हेरौं,
कुनै लगानीकर्ताले एक वर्षअघि ए कम्पनीको १ सय कित्ता सेयर ३ सय रुपैयाँका दरले किनेको थियो, १० प्रतिशत बोनस सेयर पाएपछि हाल ४ सयमा बेच्दा तिर्नुपर्ने पुँजीगत लाभकर यस्तो हुन्छ।
१००(४००-३००) + १०(४००-१००) को ५ प्रतिशत = ६ सय ५० रुपैयाँ। पुँजीगत लाभकर कटौती भएपछि मात्रै बेच्नेको बैंक खातामा रकम प्राप्त हुन्छ।
सोबाहेक ब्रोकर कमिसन र धितोपत्र बोर्डको कमिसन कटौती हुन्छ। ब्रोकरको कमिसनमा २० प्रतिशत नेप्सेलाई जान्छ भने बाँकीबाट १५ प्रतिशत सिडिएससीलाई जाने गर्छ।
म्युचुअल फण्डहरूलाई भने 'क्यापिटल गेन' नै तिर्नु नपर्ने व्यवस्था छ। ब्रोकरको कमिसनमा २० प्रतिशत नेप्सेलाई जान्छ भने बाँकीबाट १५ प्रतिशत सिडिएससीलाई जाने गर्छ।