कुमारी बैंकको कोष प्रवर्द्धनमा कुमारी इक्वीटी फण्ड नामक म्युचुअल फण्डको आवेदन फागुन १४ देखि खुल्ने भएको छ।
कुल ८ करोड इकाईमध्ये १५ प्रतिशत कोष प्रवर्द्धक कुमारी बैंकलाई सुरक्षित गरी बाँकी कुल ६ करोड ८० लाख इकाई निष्कासन गर्न लागिएको हो।
यसमा लगानी गर्न चाहनेले छिटोमा फागुन १८ गतेसम्म र सो अवधिमा सम्पूर्ण इकाईका लागि आवेदन नपरेमा ढिलोमा २८ गतेसम्म आवेदन दिन सक्ने छन्। म्युचुअल फण्डको अवधि १० वर्षको छ।
प्रतिइकाई १० रुपैयाँ पर्ने यस्तो फण्डमा न्यूनतम १ सय इकाई अर्थात १ हजार रुपैयाँको आवेदन दिनुपर्नेछ।
आफ्नो बैंक खाता भएको शाखामार्फत आवेदन दिन सकिनेछ। नेपाली नागरिक, गैरआवासीय नेपाली, विभिन्न संघसंस्था, बीमा कम्पनीहरुले फण्डका लागि आवेदन दिन सक्ने छन्।
के छ म्युचुअल फण्डमा लगानी गर्दाको फाइदा?
म्युचुअल फण्डमा लगानी गर्नका लागि धेरै विज्ञताको जरुरत पर्दैन। सेयरमा लगानी गर्नेले कम्पनीको बारेमा धेरै जानकारी लिइरहनुपर्ने, वित्तीय स्थिति केलाइरहनुपर्ने, बजारको उतारचढासँग घुलमिल हुनुपर्ने हुन्छ। तर म्युचुअल फण्डमा लगानी गर्नेहरु यी कुनै विषयवस्तुमा चासो लिइरहनु पर्दैन।
विज्ञहरुले आफ्नो विज्ञताको भरपुर उपयोग गर्दै ‘पोर्टफोलियो’ लगानी गर्ने हुँदा लगानीकर्ताको थोरै रकम पनि धेरै कम्पनीमा लगानी व्यवस्थित हुन्छ। यिनै कारणले पछिल्लो समय म्युचुअल फण्डमा लगानी आकर्षित हुँदै गएको छ।
थोरै रकम हुँदा सीमित सस्तो कम्पनीको सेयरमा मात्रै लगानी गर्न सकिन्छ। तर म्युचुअल फण्डमा लगानी गर्दा एकीकृत रुपमा ठूलो पुँजी जुट्छ र धेरै कम्पनीमा लगानी हुन्छ।
लगानी विविधिकरण हुन गई जोखिम कम हुन्छ।
उदाहरणका रुपमा हेरौं,
तपाईसँग ५ हजार रुपैयाँ छ भने ५ सय इकाई म्युचुअल फण्ड किन्न पाउनुहुन्छ। तर ५ हजार रुपैयाँले प्रतिकित्ता ५ सयभन्दा बढी मूल्यको सेयर किन्न पुग्दैन, कम्तीमा १० कित्ता किन्नुपर्छ।
थोरै मूल्यको किन्न खोजे पनि त्यो पैसाले २ वा ३ कम्पनीको सेयर मात्रै किन्न पुग्छ। तर म्युचुअल फण्डमा गरेको त्यो ५ हजार लगानी धेरै कम्पनीमा एकीकृत रुपमा लगानी हुन्छ। सेयरमा मात्रै नभई ऋणपत्र लगायत अन्य क्षेत्रमा परिचालन हुन्छ।
म्युचुअल फण्डको व्यवस्थापकले कोष प्रवर्द्धक बैंक र धेरै सर्वसाधरणबाट रकम जुटाउँछ अनि विज्ञहरुमार्फत छानेर राम्रा राम्रा कम्पनीको सेयर, ऋणपत्र वा अन्य आम्दानीमूलक क्षेत्रमा लगानी गर्दछ।
म्युचुअल फण्ड व्यवस्थापकले पनि अधिकांश (८० प्रतिशतभन्दा धेरै) लगानी सेयर र ऋणपत्रमै गर्छन्। तर म्युचुअल फण्डको रकम लगानी गर्नका लागि बौद्धिक, प्राविधिक, कम्पनीको भित्री अवस्था केलाउन सक्ने विज्ञहरु नियुक्त गरिएका हुन्छन्।
त्यही विज्ञता प्रयोग गरेर उनीहरुले सेयर, ऋणपत्र वा अन्य क्षेत्रमा लगानी गर्छन्। यसरी लगानी गरिसकेपछि आउने नाफा वा प्रतिफल आफ्नो संचालन खर्च कटाएर म्युचुअल फण्डमा लगानी गर्नेहरुलाई प्रतिफलकै रुपमा दिन्छन्।
म्युचुअल फण्डलाई कर सुविधा पनि हुन्छ। हरेक आइपिओ सर्वसाधारणलाई बिक्री गर्नुअघि नै म्युचुअल फण्डका लागि पहिले नै कोटा छुट्याइन्छ। सर्वसाधारणले गरेको लगानी र म्युचुअल फण्डले गरेको लगानी दुवै पारदर्शी हुन्छ।
प्रतिइकाई १० रुपैयाँको तपाईको सम्पत्ति कति पुग्यो भनेर (नेट एसेट भ्यालु) जानकारी लिन पाइन्छ। प्रायः सेयर बजार बढ्दै जाँदा तपाईंको प्रतिइकाई १० रुपैयाँको मूल्य पनि बढ्दै जान्छ।
यसरी मूल्य बढ्दै जाँदा फण्डको व्यवस्थापकले लाभांश घोषणा गर्छ। तर खुद सम्पत्ति मूल्य घटेको अवस्थामा कुनै वर्ष लाभांश नदिन पनि सक्छन्। बैंकले हाल दिने गरेको मुद्दतीको ब्याजदरभन्दा म्युचुअल फण्डले दिने लाभांश प्रायः बढी नै हुन्छ।
बीचमै यस्तो फण्डको इकाई बेच्न मन लागेमा सेयरजस्तै बिक्री गर्न पाइन्छ। बीचमा नबेचेर राखिरहेको अवस्थामा परिपक्व अवधि पुगेपछि म्युचुअल फण्डले कमाएको सम्पूर्ण नाफा (आर्जन सम्पत्तिको मूल्यसहित)को रकम पाइन्छ।